|

मलंगवा : बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै सर्लाहीमा बिहीवार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

स्थानीय बासिन्दाले हरिवन नगरपालिका–९ दनुवारीका नारायण गौतमले ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्। 

उनीहरूले आरोपी गौतमलाई पक्राउ गरी कारबाहीका लागि न्यायालयमा लैजान माग गरेका छन्। पीडक गौतमलाई बचाउन स्थानीय प्रहरी जनप्रतिनिधि र दलका नेताहरू लागि परेको भन्दै पीडितका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।

पीडितका आफन्तका अनुसार फागुन २५ गते बिहीवार दिउँसो बालिका बजारबाट फर्किने क्रममा गौतमको घरमा कलमा पानी खान गएका वेला घरभित्र बोलाएर जबरजस्ती करणी प्रयास गरेका थिए।

हरिवन नगरपालिका–९ का स्थानीय रमा तिमिल्सिनाले प्रहरीले काबाही ढिलो गरेकाले राजमार्ग अवरुद्ध गरेको बताइन्। 

२५ गते घटना भए पनि फागुन २८ गते बालिकाले हजुरआमालाई समस्या बताएपछि फागुन २९ गते इलाका प्रहरी कार्यालय हरिवनमा किटानी जाहेरी दिइएको थियो।

स्थानीय प्रहरी, जनप्रतिनिधि र दलका नेताहरूको दबावमा प्रहरीले पीडक गौतमलाई संरक्षण गरेको पीडित पक्षको आरोप छ। हरिवन-९ का वडाध्यक्ष कोकिलानन्द उप्रेतीले घटनालाई कमजोर बनाउन पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई आरोपीलाई संरक्षण गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी समेत गरिएको थियो।

पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पर्ने हरिवन नगरपालिका–९ र १० को सीमास्थित नयाँरोड चोकमा टायर बालेर उनीहरूले सडक अवरुद्ध गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बलात्कार आरोपी उपर किटानी जाहेरी दर्ता गरिएको बताए। उनले आरोपीको खोजीमा प्रहरी जुटेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.