|

काठमाडौं : उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा बाजी मारेका हुन्। यादवलाई सत्ता गठबन्धनको सर्मथन रहेको थियो।

शिक्षण पेशाबाट राजनीतिमा होमिएका यादवको स्थायी घर बारा हो। विसं २०२७ साल साउन ९ गते बाबुप्रसाद राय र सिंहवादेवी यादवको पुत्रका रुपमा जन्मिएका उनी शिक्षण पेशा हुँदै राजनीतिमा होमिएका हुन्।

०४६ सालको जनआन्दोलनमा मधेशी जनअधिकार फोरम पार्टीको संस्थापक रही काम गरेका उनले ०४७ सालमा नेपाल सद्भावना पार्टीमा आबद्ध भएपछि नेपाल शिक्षक मञ्च बाराको संस्थापक‚ नेपाल शिक्षक मञ्च, केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारी वहन गरेका छन्। पढाइमा अब्बल मानिएका उनले स्थायी शिक्षकका लागि पटकपटक परीक्षा दिएका थिए। 

०४८ सालदेखि शिक्षण पेशामा लागेका यादवले १६ वर्ष ९ महिना अध्यापन गराए। सुरुमा अस्थायी शिक्षण पेशा सुरु गरेका उनले ०५२ सालमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिए तर, त्यसको नतिजा आइसक्दा यादव राजनीतिमा लागिसकेका थिए।

अर्थात् उनले दिएको नतिजा ०६० सालमा मात्रै आयो। ०६४ को फागुन १६ मा उनले निम्न माध्यमिक तहको स्थायी शिक्षकबाट राजीनामा दिए। ०४६ सालदेखि ०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भए। 

०५० सालमा नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशन वीरगन्जको पर्यवेक्षक, ०५७ मा नागरिकता विधेयकविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा सहभागी भइ उनी गिरफ्तार भएका थिए।

गजेन्द्रनारायण सिंहको नेतृत्वमा भएको ‘मधेश एकता रथयात्रा’मा पहिलो पटक सहभागी भएदेखि उनले आफूलाई कहिल्यै राजनीतिबाट अलग गरेनन् । ०५८ सालमा गजेन्द्रनारायणको मृत्युपछि बद्रीप्रसाद मण्डल कार्यवाहक अध्यक्ष थिए।

०५९ सालमा नेपाल सद्भावना पार्टीको पाँचौं महाधिवेशन राजविराजमा महाधिवेशन प्रतिनिधि भएर काम गरे। उनले राजविराज महाधिवेशनको क्रममा पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनसन र आनन्दी देवी सिंहद्वारा अनसन तोड्न लगाई आनन्दी देवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी ‘आनन्ददेवी’ गठन भएको थियो।

तत्कालीन सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका मण्डलले सद्भावना पार्टी कब्जा गर्ने योजना बनाएको भन्दै उनले राजविराजको सप्तरी सेवा आश्रममा आमरण अनशन गरेका थिए। 

०५९ सालमा मधेशी जनअधिकार फोरम नेपालमा आबद्ध भएका यादव ०६० फागुन ७ गते मधेशी जनअधिकार फोरम नेपाल बाराको संस्थापक अध्यक्ष्य बने। सोही वर्ष भारतको पटना बैठकले उनलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गर्‍यो।

०६२/०६३को जनआन्दोलनमा सक्रिय सहभागिता देखाएका यादव सोही वर्ष काठमाडौंबाट गिरफ्तारीमा परे। ०६२/०६३ सालको जनआन्दोलनदेखि अध्यक्ष उपेन्द्र यादवको निकट रहेका यादव मधेश आन्दोलनमा सक्रिय रुपमा लागेका थिए। साथै सोही वर्ष फागुन ७ गते गौर हत्याकाण्डपछि उनले रौतहट आन्दोलनको नेतृत्व पाए। 

उनले मधेश जनविद्रोहका क्रममा बारा, पर्सा, रौतहट, कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारी निर्वाह गरे। उक्त आन्दोलनका क्रममा ५/६ पटक पक्राउ परे।

०६४ मा मधेशी जनअधिकार फोरम निर्वाचन आयोगमा दर्ता भएको थियो। उक्त पार्टीले यादवलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद चयन भए।

०६५ सालमा यादवले महासचिवको जिम्मेवारी र पहिलो संविधानसभा अन्तराष्ट्रिय सम्बन्ध तथा संवैधानिक समितिको सदस्य भए।  सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासम्मेलनमा न्युयोर्कमा प्रतिनिधिसभा मण्डलमा सदस्यमा सहभागी भए। 

०७२ सालमा मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकृत भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव भए।०७२ मै मधेश आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा लाठी प्रहारबाट उनी सख्त घाइते भए।

उनले नेपाल भारत सीमाको दशगजास्थित वीरगन्ज मितेरी पुलमा लगातार ६ महिना धर्ना राखेका यादव ०७४ सालको प्रतिनिधिसभा सदस्यका रुपमा बारा २ बाट प्रत्यक्ष रुपमा निर्वाचित भए।

उनी सोही वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमणमा उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी बने। ०७५  मा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भइ बनेको समाजवादी पार्टीको महासचिव बने।

०७६ मा समाजवादी पार्टी र राजपाबीच एकीकरण भइ बनेको जसपाको कार्यकारिणी समिति सदस्य समेत बने। ०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव ०७८ मा देउवा नेतृत्वको सरकारको मन्त्रीको हैसियतमा जलवायु सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भए।

 यादवले पार्टी तथा सरकारको प्रतिनिधि भइ हालसम्म अमेरिका, पोल्याण्ड, चीन, बेलायत, बेल्जियम, युएईको भ्रमण गरेका छन्।  

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा चुनाव लड्न चाहेका यादवलाई अध्यक्ष उपेन्द्रले समानुपातिक कोटाबाट सांसद बनाए।

०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकको कोटामा अटाएनन्। ०७४ मा भने यादवले प्रत्यक्षबाट चुनाव जिते। बरा–२ बाट निर्वाचित भएका उनी ०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्री बने। साथै गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा यादव बारा २ बाट निर्वाचित भएका थिए। 

उनी गत पुस १३ गते जसपा संसदीय दलको नेतामा चयन भएका थिए। जसपाका वरिष्ठ नेता अशोक राईलाई पाखा लगाउँदै यादवले दलको नेतामा बाजी मारेका हुन्। राष्ट्रपतिमा निर्वाचित भएका यादवले संविधानमा उल्लेख भए बमोजिम आफूले जिम्मेवारी निर्वाह गर्ने बताए।

‘राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समता मुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ। म इमान्दारिता पूर्वक जनताको पक्षमा काम गर्नेछु,’ यादवले भने। ​

यादवले आईएस्सीदेखि वीएड, बिएस्सीसम्मको अध्ययन गरेका छन्। ०४३ सालमा बाराको कंकाली माविबाट एसएसली पास गरेका यादवले सन् १९९० मा भारतको पटनाबाट गणित र विज्ञान विषयमा आईएस्सी गरे।

१९९३ मा भारतको डा. बाबसाहेक भिमराव अम्बेडकर विश्वविद्यालय मुज्फ्फरपुरबाट बीएस्सी गरेका उनले ०५५ सालमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट गणित विषयमा बीएड पास गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.