|

काठमाडौं : डा. महाश्रम शर्माले राष्ट्रिय परीक्षा बोर्ड सम्हालेको १५ महिना भइसकेको छ। २०७८ पुस ९ गते उनी बोर्ड अध्यक्षमा नियुक्त भएका थिए। उनी नियुक्ति भएपछि गत चैत महिनामा थाहाखबरलाई आफ्ना विभिन्न चारवर्षे रणनीतिक योजना सुनाएका थिए।

उनले सुनाएअनुसार केही काम परे टाढा टाढाका विद्यार्थीहरू बोर्डमा धाउनुपर्ने बाध्यता छ। त्यसैले उनीहरूको लागि आफ्नै जिल्लाको विद्यालयबाट जानकारी प्राप्त गर्ने, परीक्षासम्बन्धी सबै सेवा, यहाँ पठाउनुपर्ने सूचना विद्यार्थीले पठाउन सक्ने व्यवस्था हरेक विद्यार्थीलाई पहुँचमा ल्याउने र 'विद्यार्थीले परीक्षा बोर्ड धाउनुपर्ने समस्या अन्त्य हुँदै छ' भनेर योजना ल्याएका थिए।

त्यसैगरी परीक्षा प्रणाली व्यवस्थित र सुधार गर्न स्तरीकृत परीक्षा प्रणालीबाट परीक्षा सञ्चालन गर्ने उनका योजना थियो। मार्कसिट प्रिन्टेड भएकाले भोलिका दिनमा ती अंक उप्किए वा बिग्रिएमा समस्या पर्ने भन्दै त्यसलाई पनि डिजिटलाइज गरी  सम्बन्धित व्यक्तिले  देख्ने गरी वेबसाइटलगायत माध्यममा राख्ने लगायत बोर्डका अध्यक्ष शर्माका योजना थिए। 

यी योजनामध्ये केही मात्रै कार्यान्वयनमा आउने भएका छन्। आगामी वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गरिँदै छ। आगामी नयाँ शैक्षिक सत्र (२०८०) बाट ‘स्तरीकृत परीक्षा प्रणाली’ लागू हुने भएको हो।

राष्ट्रिय परीक्षा बोर्डले यसका लागि तयारी थालिसकेको छ। शिक्षकहरूलाई तालिम प्रदान गर्न थालेको छ। अन्य उनका योजना भने अझै कार्यान्वयनमा आएका छैनन्। अझै पनि सेवा लिन परीक्षा बोर्डमा लाइन बस्न बाध्य छन् विद्यार्थीहरू। 

मार्कसिट डिजिटलाइजबारे यसो भन्छन् अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा आफ्ना योजनाअनुसार निरन्तर काम गर्दै आएको बताउँछन्। उनले नयाँ वर्ष अर्थात् २०८० लागू भएपछि बोर्ड डिजिटलाइजमा जाने बताए।

‘हामीले विद्यार्थीहरूको मार्कसिट नम्बर छ नि, हामीले जोडिसक्यौँ अरूले हेर्न पाउँछन् तर उनीहरू यहाँ भेरिफिकेसनको लागि आएका हुन्। सब डिजिटलाइजको कुरा छ, सफ्टवेयर भएर जोडिसकेको पनि छ, नयाँ वर्ष शुरु भएपछि अनलाइनबाट जान्छ, काम भइरहेको छ‚’ उनले भने। 

माध्यमिक शिक्षा परीक्षा एसइई सञ्चालनको जिम्मा प्रदेशले पाएको छ। ‘तर प्रश्नपत्रको काम यहींबाटै गर्दै आएका छौँ, संघीय शिक्षा ऐन नबनेसम्म प्रमाणीकरण यहींबाटै गर्ने भनेको छ’‚ उनले भने।

उनका अनुसार नयाँ शैक्षिक सत्रबाट पहिलो चरणमा कक्षा–८ मा गणित, विज्ञान र अंग्रेजी विषयको स्तरीकृत परीक्षा सञ्चालन गरिँदै छ। विस्तारै अन्य तहमा सबै विषयको स्तरीकृत परीक्षा सञ्चालन हुने उनको भनाइ छ।

यो परीक्षा प्रणालीबाट परीक्षा सञ्चालनबाट प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण व्यवस्थित हुने र शिक्षाको गुणस्तर सुध्रिँदै जाने उनको अपेक्षा छ।

यो वर्षमै मोबाइलबाट पैसा तिर्ने व्यवस्था गर्छौं : शर्मा

अध्यक्ष शर्माले पहिलाजस्तो बोर्डमा लाइन बस्नुपर्ने समस्या हटेको दाबी गरे। उनले अहिले बोर्डमा देखिएको लाइन अध्ययन अनुमतिपत्र (एनओसी) लिनेहरूको भएको बताए।

‘यहाँ धाउनुपर्ने बाध्यता अन्त्य गर्ने काम शुरु भइसकेको छ, विद्यालयहरूले लाइन लाग्नुपर्ने अवस्था हटिसक्यो। विद्यालयले पैसा तिर्ने कुरामा स्कुलबाटै पैसा तिर्न सक्छन्’‚ उनले भने।

उनले अब विद्यार्थीहरूका लागि ​डकुमेन्टका लागि बुझाउनुपर्ने पैसा घरमै बसेर मोबाइलबाटै तिर्ने व्यवस्था गर्न लागेको बताए। उनी भन्छन्, ‘अब विद्यार्थीहरूको सन्दर्भमा विद्यार्थीहरू यहाँ आएर पैसा तिर्न लाइनमा बसेर तिर्नुपर्ने समस्या अन्त्य गर्दै छौँ। मोबाइलबाटै पैसा तिर्न सक्ने व्यवस्था गर्छौं, यो सुविधा यो सालमै थाल्छौँ।’

उनले यसका लागि अहिले प्रविधिको व्यवस्थापन गरिरहेको बताए। ‘सफ्टवेयर तयार गर्दै छौँ, हरेक आम्दानीलगायत हिसाबका लागि यहाँ मात्र नभई प्रदेश शाखामा पनि एउटै सिस्टम लागू गर्नुपर्छ’‚ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.