|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते बुधबार विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार दल राप्रपाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्। गत पुस २६ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त उनले माघ ३ गते विश्वासको मत लिएका थिए।

त्यतिवेला जम्मकट्टेललाई संसद्का ७ दलमध्ये ६ दलले विश्वासको मत दिएका थिए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई नेमकिपाबाहेक नेपाली कांग्रेससहित ६ दलले विश्वासको मत दिएको थियो।

५ दलको समर्थनमा मुख्यमन्त्री बने पनि जम्मकट्टेलले सरकारमा भने राप्रपा, एमाले र माओवादीलाई मात्रै सहभागी गराएका थिए।

केन्द्रमा बनेको दलीय समीकरणअनुसार राप्रपालाई सरकारमा लगे पनि केन्द्रमा नै भएको राजनीतिक उथलपुथलका कारण राप्रपा सरकारबाट बाहिरिएको छ। 

उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्मकट्टेल पुनः सदनमा विश्वासको मत लिन बाध्यता भएका हुन्।

सोहीअनुसार उनले चैत ८ गते विश्वासको मत लिने तयारी गरेका हुन्। सोहीअनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

एमाले नेतृत्वको गठबन्धन भत्किएसँगै संघीय सरबारबाट बाहिरिएको एमाले प्रदेश सरकारमा भने अझै छ। उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छैन। एमालेले समर्थन फिर्ता लिए फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने हुँदा मुख्यमन्त्री जम्मकट्टेल ढिला गरी विश्वासको मत लिने तयारीमा थिए।

जम्मकट्टेललाई सदनमा विश्वासको मत पाउन कुनै समस्या भने छैन। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समेत विश्वासको मत पाएका उनले पुनः कांग्रेससँगै माओवादी, नेकपा एकीकृत समाजवादीको विश्वास पाउने निश्चितजस्तै देखिएको छ।

११० सांसद रहेको बागमतीमा सरकार निर्माणका लागि ५६ सांसद चाहिन्छ। ४ मन्त्री सहभागी गराएको एमालेले समर्थन फिर्ता भए प्रदेश सरकार अल्पमतमा पर्छ ।

एमाले बाहरिएपछि मुख्यमन्त्री जम्कट्टेललाई समर्थन गर्ने कांग्रेसको तयारी छ। ३७ सिटसहित सदनको सबैभन्दा ठूलो दल कांग्रेस देखिएको छ। आन्तरिक द्वन्द्वका कारण कांग्रेसले बागमतीमा मुख्यमन्त्री परिवर्तनभन्दा पनि यही सरकारमा सामेल हुने योजनामा छ।

वर्तमान मुख्यमन्त्रीलाई सरकार बनाउँदा समर्थन गरेको समाजवादीले यसअघि पनि सरकारमा जान चाहेको थियो तर संघमा बनेको दलीय गठनबन्धनमा समाजवादी नपरेपछि प्रदेश सरकारमा सहभागी हुन पाएन।

प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.