|

काठमाडौं : नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ‚ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

फागुन २९ गतेदेखि चैत १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतीविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ६६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कसैले पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको  थियो।

मेतीबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।

मोतीबिन्दु भएपछिको प्रभावकारी उपचार शल्यक्रिया हो। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धेरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नका लागि शल्यक्रिया गर्नुपर्ने हुन्छ। आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी नियमित दिनचर्यामा फर्कन सक्छन्।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभर वार्षिक करिब ३ हजार निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.