|

काठमाडौं : अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन्।

कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरेले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटी कम हुन थालेको बताए। उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे । 

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ कार्य गरिरहेको बताए। उनले भोलिका दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए।

उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत,साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए। त्यसैगरी शुभकामना सन्देश दिँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रूपैयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रूपैयाँ लगानी गरेको बताए। 

कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरूलाई प्राथमिकता दिइ लगानी बढाउँदै आएको उनको भनाई थियो। 

कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरूलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको जानकारी उनले दिए।

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा आइसकेको बताउँदै नेपालले भने–‘राष्ट्रसेवक कर्मचारीहरूको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्यास प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरूलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपीएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरूको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाई सकिएको छ ।’

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव नारायण गुरागाईँले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए। वार्षिकोत्सव कार्यक्रममा २० बर्से सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.