|

दाङ :  राप्ती बबई क्याम्पस तुलसीपुरमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्। विद्यार्थीहरूको परिचयपत्र फर्जी रहेको र सोको छानबिन चुस्त दुरुस्त नहुँदासम्म क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ राप्ती बबई क्याम्पस एकाइ सभापति भीमार्जुन बस्नेतले जानकारी दिए।

एकाइ सभापति बस्नेत र सचिव डिमन गिरीले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनका उम्मेदवारहरूको संघसंगठनको पहिचान खुलाई मतपत्र तयार नपारुन्जेल निर्वाचन कार्यालयमा तालाबन्दी गरेका जानकारी दिएका छन्।

यस्तै राप्ती बबई क्याम्पस स्ववियू निर्वाचन कार्यालयले पनि सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जनाएको छ। निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलका अनुसार स्ववियु निर्वाचनमा संलग्न विद्यार्थी संगठनबीच मतपत्र सम्बन्धी फरक फरक धारणा रहेपछि अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मतदान स्थगित गरिएको हो।

यस्तै घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आइतबार हुने स्ववियू निर्वाचन स्थगित भएको छ। क्याम्पसमा गरिएको तालाबन्दीको विषयमा अखिल (क्रान्तिकारी) विप्लव र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमतिअनुसार निर्वाचन चैत ८ गतेका लागि सारिएको हो।

अखिल (क्रान्तिकारी)ले निर्वाचनका लागि क्याम्पस प्रशासनले अनधिकृत परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो। क्याम्पस प्रशासनले क्याम्पसको छाप लगाएर खाली परिचयपत्र वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी)  दाङका अध्यक्ष खुमबहादुर केसी (खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलवीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफलअनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै निर्वाचन सारिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.