|

काठमाडौं : १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (आइतबार) देशभरिका त्रिभुवन विश्वविद्यालय (त्रिवि), यसका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भइरहेको छ। केही ठाउँमा भने विभिन्न विवादका कारण रोकिएको छ।

लामो समयपछि भोटमार्फत आफ्नो अधिकार प्रयोग गर्न पाउँदा खुसी छन् विद्यार्थीहरू। यस्तै, दृश्य नेपाल ल क्याम्पसमा आइतबार देखियो। त्यहाँको माहोल चुनावमय बनेको थियो।

सबै आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लागि परेका थिए, कोही तिनका पक्षमा भोट माग्दै थिए विद्यार्थीहरू। मतदानका बेला यसरी मत माग्नु आचारसंहिताविपरीत भएकाले प्रहरीले रोक्न खोजे पनि उनीहरू मानिरहेका थिएनन्।

उक्त क्याम्पसमा लोकतान्त्रिक–वाम विद्यार्थी संयुक्त प्यानलका साझा उम्मेदवार छन्। प्रचण्डनिकट अखिल क्रान्तिकारी अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु, कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालमेल गरेका छन्।

संयुक्त प्यानलबाट अध्यक्षमा विष्णु ढुंगेल उम्मेदवार छन्। सचिवमा मनोज सिंह, कोषाध्यक्षमा सिम्रन वनेम लिम्बु, सदस्यहरूमा अमृत ढकाल, मनिष भट्टराई, सपना गौतम, प्रज्वल बराल, विराज ढुंगाना, वन्दनाकुमारी रावत र नोजोमि आन लुईटेल उम्मेदवार बनेका छन्।

अर्का, प्रतिस्पर्धामा नेकपा एमालेनिकट अनेरास्ववियुमा अध्यक्ष कैलाश तामाङको प्यानलबाट सचिवमा निशान्तबाबु खड्का उम्मेदवार छन्। कोषाध्यक्षमा सञ्ज्योती नेम्वाङ छन्। सदस्यहरूमा समिर रिजाल, प्रियंका साउद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल, सुरेश राई, आशतोषकुमार गुप्ता र प्रकाश सुनार उम्मेदवार छन्। 

‘हाम्रो आवाज बोलिदिनुपर्छ’

ल क्याम्पसका सुनाम दाहालले नयाँ चुनिने यो नेतृत्वले राजनीतिक पार्टीको नभइ विद्यार्थीहरूको आवाज बोलिदिने छ भन्दै आशा व्यक्त गरे। 

लामो समयपछि भएको निर्वाचनमा भोट दिन पाउँदा खुसी व्यक्त गर्दै उनी भन्छन्, ‘कलेजमा होस् या देशमा यो निर्वाचन हुनै पर्ने थियो। भयो, राम्रो भयो, अब आउने नयाँ नेतृत्वले विद्यार्थीहरूको हक हितको लागि काम गर्नुपर्छ।’

अहिलेका नयाँ नेतृत्वले शैक्षिक एजेण्डा ल्याएको र त्यहीअनुसार काम गर्दै जानेमा उनको अपेक्षा छ। काम नगरेमा दबाब दिइरहने उनले बताए। 

‘घोषणापत्र जारी गरेका छन,’ उनले भने, ‘त्योअनुसार काम गर्छन्, गर्दैनन् उनीहरूको ठाउँमा छ। तर भोट हाल्छौँ, त्यो भोटको सदुपयोग हुनुपर्छ।’

सोही क्याम्पसका विद्यार्थी माजित अन्सारीले स्ववियु निर्वाचन समयमा नहुँदा अनेकौँ विकृति फैलिएको बताए।

उनी भन्छन्, ‘वर्तमान राजनीतिमा अहिले जुन विकृति देखिन्छ, संसदमा ठेकेदार बसेका छन्, अपराधीहरू छन्, यो किन भयो भने १४ वर्षदेखि स्ववियु निर्वाचन भएन। राष्ट्रिय राजनीतिको लागि विद्यार्थी राजनीति गरी योग्य राजनीतिज्ञ उत्पादन गर्ने कारखाना स्ववियु बन्द भयो, यही कारण अनेकौं विकृति आए।’

उनका अनुसार ६० दिनमा आउनुपर्ने परीक्षाफल ६ महिनासम्म आउँदैन। जसकारण विद्यार्थीहरूको भविष्य पछिल्लो समय अन्योलमा छ।

‘त्रिविको प्रशासन अहिले कुन स्थितिमा छ? हाम्रो थेसिस कौडीको भाउमा बेचिन्छ। ल क्याम्पसमा परीक्षा हुन्छ, ६ महिनासम्म रिजल्ट आउँदैन, ६ महिनाको सेमेष्टर सकिन ११ महिना कुर्नुपर्छ‚ निर्देशिकाले ६० दिनमा रिजल्ट आउँछ भन्छ,’ उनले समस्या सुनाए। यी समस्याहरू समाधानको लागि स्ववियु निर्वाचनको आवश्यक रहेको उनले बताए।

‘यस्ता समस्याहरू यथावत् छन्, अहिले विद्यार्थीको लागि कसले बोल्ने, कोइ छैन। यो विद्यार्थीहरूको साझा संस्था हो, त्यसैले हाम्रो समस्या‚ आवाज बोल्दिने कोही छ भन्ने यसले अब आभास दिलाउँछ भन्ने आशा छ, यही आशाका साथ मैले भोट पनि दिएको छु,’ उनले भने। 

क्याम्पसका विकृतिको अन्त्य हुनैपर्छ : गौतम

शंकरदेव क्याम्पसमा पनि स्ववियु निर्वाचनमा विद्यार्थीहरू तल्लीन भएरै भोट दिइरहेका थिए। त्यहाँ भोट दिइसकेपछि दिपिन गौतमले जसरी आशा र अपेक्षा राखेर भोट दिए ती उम्मेदवारले विद्यार्थीहरूको समस्या समाधान गर्न तल्लीन रहने अपेक्षा व्यक्त गरे।

‘बल्ल स्ववियु निर्वाचन भयो, खुसी लाग्यो, यो  हुनैपर्छ,’ उनले भने, ‘यहाँ समयमा रिजल्ट आउँदैन, विद्यालय, क्याम्पसहरू प्रशासनहरूमा बेथिति छ। अब आउने नयाँ नेतृत्वले यो विकृति बेथिति निर्मल पार्नुपर्छ, समयमै नतिजा प्रकाशित गर्न पहल गरून्।’

भोट दिइसकेपछि पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थी आस्था यादवले क्याम्पसमा भएका विभिन्न समस्या अब समाधान हुनुपर्ने बताइन्। उनका अनुसार उक्त क्याम्पसमा लाइब्रेरी‚ क्याम्पस प्रशासनलगायतमा समस्या छन्।

‘जसरी हामीले खुशीका साथ भोट दिएका छौँ, त्यसैगरि यहाँ भएका समस्याहरू समाधान गर्ने र सधैं हाम्रा हक अधिकारका निम्ति आवाज बुलन्द गरून्, यही अपेक्षा लिएका छौँ,’ सोही क्याम्पसका छात्रा दीक्षा रानी र प्रतिस्था खनालले भने।

त्रिविले २०६५ सालअघिसम्म शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ गते चुनावको कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो तर त्रिविका क्याम्पसहरूमा २०६५ सालयता नियमित निर्वाचन हुन सकेको थिएन। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्।

०६५ चैत ६ गतेपछि ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्न राज्य (आरआर), जनप्रशासनसहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.