|
मनास्लु हिमाल। तस्वीर सौजन्य : पर्यटन विभाग

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सवा करोड रोयल्टी संकलन भएको छ।

पर्यटन विभागका अनुसार २५ देशका ५० पर्वतारोहीले वसन्तमा विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका छन्। उनीहरुबाट रोयल्टीवापत १ करोड २८ लाख ९८ हजार ९५० रूपैयाँ संकलन भएको हो।

यस सिजनमा ६ हजार ५२३ मिटर उचाइको सुर्मा सरोवर आरोहणका लागि २ जना पुरुषले अनुमति पाएका छन् भने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण चढ्न २२ पुरुषसहित ३४ जनाले अनुमति लिएका छन्। ६ हजार १४४ मिटर अग्लो थोरोङ पिक चढ्न ५ जना नेपाल आएका विभागले जनाएको छ।

६ हजार ६२० मिटर उँचो पाङ्ग्री गोल्दुम्बा आरोहणका लागि ६ जनाले, ‘किलर माउण्टेन’ को रुपमा समेत परिचित ८ हजार १६३ मिटर उचाइ रहेको मनास्लु आरोहण गर्न २ महिलासहित ३ जनाले पर्यटन विभागबाट अनुमति पाएका छन्।

नेपालका ५ हिमाल आरोहण गर्न २ छिमेकी मुलुक चीन र भारतसहित अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, युके, बुल्गेरिया, क्यानडा, फ्रान्स, जापान, नर्वे, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया, अमेरिका, रुस, कतारलगायत देशका नागरिकले अनुमति लिएका छन्।

यसअघि शरद ऋतुमा नेपालसहित ७७ मुलुकका १ हजार ४४१ जनाले आरोहणको अनुमति लिएका थिए। नेपालका ४९ हिमाल चढ्ने अनुमति लिएका उनीहरुबाट ९ करोड ३१ लाख ४ हजार ६७७ रूपैयाँ रोयल्टी संकलन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.