|

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तरराष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि ७ अर्ब युरो सहयोग गर्ने बाचा गरेका छन्।

भूकम्प पीडितहरुका लागि सहयोग जुटाउन युरोपेली सङ्घले ब्रसेल्समा आयोजना गरेको दाताहरुको सम्मेलनका क्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ।

सोमबार अन्तरराष्ट्रिय दाताहरुबाट सो सहयोगको प्रतिबद्धता आएको बताइएको हो। गत महिनाको विनाशकारी ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले यी दुई देशमा ठूलो क्षति पुगेको छ।

भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।

उक्त भूकम्पबाट प्रभावित हुने र विस्थापित हुने व्यक्तिको संख्या पनि लाखौँ रहेको संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमान रहेको छ। एक प्रारम्भिक प्रतिवेदनअनुसार टर्कीमा मात्रै १ सय अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। उक्त क्षेत्रमा गत हप्ता आएको बाढीले अझ दुःख भएको जनाइएको छ।

सोमबार आयोजना गरिएको सो दाता सम्मेलनमा विश्वका विभिन्न देशका ६० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ। हाल टर्की र सिरियामा सङ्कटग्रस्त अवस्था रहेको र तत्कालै उनीहरुका लागि आवश्यक सहयोग जुटाउन सो सम्मेलन आयोजना गरिएको र त्यसमा तत्कालै आवश्यक सङ्कटकालीन सहयोगअन्तर्गत यो प्रतिबद्धता आएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.