‘पाठ्यक्रम अपेक्षाअनुसार प्रभावकारी भएन’

|

काठमाडौं : देशभरका अधिकांश स्थानीय तहले पछिल्लो समय स्थानीय पाठ्यक्रम बनाएर सरकारी (सामुदायिक) विद्यालयमा पठनपाठन भइरहेको छ। केही निजी विद्यालयहरूमा पनि पठनपाठन भइरहेको छ।

काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायत स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम बनाइ पढाउन थालेका छन्।

तर शिक्षकहरूलाई स्थानीय तहहरूले नियमित तालिम नदिँदा उनीहरूलाई पढाउनै सकस भएको छ। जसकारण यसबाट अपेक्षित प्रभावकारी भएको पाइएको छैन। 

काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार २०७७ सालबाटै महानगरपालिकाको सरकारी विद्यालयहरूमा पाठ्यक्रम लागू भएको हो। निजी विद्यालयहरूमा पनि उक्त पुस्तक वितरण गरिसके पनि केहीले पढाउने र कुनै निजी विद्यालयले अझै पढाएका छैनन्। 

गोकर्णेश्वर नगरपालिकाले भने ०७६ सालबाटै निजी र सरकारी दुवैमा स्थानीय पाठ्यक्रम अध्यापन भइरहेको जनाएको छ। नगरपालिकाका अनुसार १७ वटा सरकारीसहित १ सय ३० विद्यालय छन्। 

‘तालिम नलिइ पढाउन गाह्रो पर्छ’

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूलाई तालिम नहुँदा अझै स्थानीय पाठ्यक्रम अपेक्षाअनुसार प्रभावकारी नभएको बताइन्।

उनले भनिन्,‘अहिलेको स्थानीय पाठ्यक्रम कक्षा १, २ र ३ सम्म पढाइ भएको छ, केही ठाउँमा प्रभावकारी भएको छ तर सबै ठाउँमा राम्रोसँग प्रभावकारी हुन सकेको छैन।’

उनका अनुसार पहिला स्थानीय तहमार्फत भाषालगायत शिक्षकहरूलाई तालिम दिइन्थ्यो। ‘तर अहिले शिक्षकहरूलाई दिइने ट्रेनिङ नै ठप्प छ, प्रदेशबाट केही तालिम प्रदान गरेको छैन। सबै शिक्षक भाषामा दक्ष छैनन्, त्यसैले शिक्षकहरूलाई राम्रो तालिम दिएमा राम्रैसँग प्रभावकारी हुन्छ,’ उनले भनिन्। 

उनले शिक्षकहरूलाई आवश्यक तालिमसँगै विद्यालयमा अनुगमन पनि गर्नुपर्ने बताइन्। ‘अहिले कसले तालिम दिने, विद्यालयमा अनुगमन गर्ने‚ यो नै अन्योल छ,’ उनले भनिन्, ‘पहिला विद्यालयमा अनुगमन हुन्थ्यो, सुझाव दिइन्थ्यो, अहिले केही छैन।’

के हो स्थानीय पाठ्यक्रम?

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत तहको कक्षा १ देखि ८ सम्म एउटा विषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था गरेको हो।

यो व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहले स्थानीय जनसमुदायको आवश्यकताअनुसार पाठ्यक्रममा तथा पाठ्यसामग्री विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ।

यसका लागि पाठ्यक्रम विकास केन्द्रले ‘स्थानीय पाठ्यक्रममा विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित)’ विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ।

यसले स्थानीय पाठ्यक्रममा विकासका सम्पूर्ण प्रक्रियामा सहजीकरण गर्नेछ। यो मार्गदर्शन केन्द्रको वेबसाइटबाट उपलब्ध छ।

स्थानीय पाठ्यक्रम विद्यार्थीहरूले आफ्नै भाषा, संस्कार, संस्कृति, आफू वरपर रहेका सम्पदा एवं वातावरणका बारेमा सिक्ने अवसर पाउनुका साथै सिक्न प्रोत्साहन मिलोस् भनेर स्थानीय तहबाट पाठ्यक्रम विकास गरिन्छ। 

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो। यसबाट विद्यार्थीहरूले धेरै ज्ञान सिक्ने अवसर पाउने अपेक्षा छ। 

विज्ञ भन्छन् : पाठ्यक्रम आवश्यक छ, दुरूपयोग हुनुहुँदैन 

शिक्षाविद् प्राडा विनयकुमार कुसियतले सबै स्थानीय तहहरूमा स्थानीय पाठ्यक्रम आवश्यक रहेको तर राज्यले यसको यथोचित व्यवस्थापन गर्न नसकेको बताए।

उनले भने, ‘स्थानीय पाठ्यक्रम धेरै आवश्यक छ, यसले स्थानीय वा हामीमा भएको ज्ञान, परम्परा, कला संस्कृतिलाई संस्कार, सीप जोगाउँदै लान्छ। संसारमा जहाँसुकै पनि आफ्नो पहिचान जोगाउन यो पाठ्यक्रमको भूमिका हुन्छ, विषयवस्तु फरक–फरक हुन्छ।’

उ​नले स्थानीय पाठ्यक्रमको नाममा दुरूपयोग भएको पाइएको पनि उनले बताए। ‘के कति यो प्रभावकारी भयो भन्नेबारे मैले अध्ययन गरेको छैन तर अहिले यहाँ स्थानीय पाठ्यक्रम नाम मात्रैका बनाएको र यो पाठ्यक्रमको ठाउँमा अंग्रेजी पढाउने गरेको देखिएको छ। भाषा मात्रै पढाएर स्थानीय पाठ्यक्रमको दुरूपयोग  भएको छ, तै पनि अनुगमन छैन,’ उनले भने।

स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यार्थीहरूलाई निजी तथा सामुदायिक विद्यालयमा पढाउनुपर्ने र यसमा सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए। 

‘तालिम दिने तयारीमा छौँ’ 

ललितपुर महानगरपालिकाको शिक्षा विभाग प्रमुख महेन्द्रबहादुर बस्नेतले शिक्षकहरूलाई आवश्यक तालिम दिने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार अहिले महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूमा कक्षा–३ सम्म स्थानीय पाठ्यक्रम पढाइ भइरहेको छ। ‘अब क्रमशः कक्षा ४ र ५ मा पुर्‍याउने योजनामा छौँ,’ उनले भने।

उनले निजी विद्यालयहरूमा भने नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट अनिवार्य स्थानीय पाठ्यक्रम लागू गर्ने बताए। ‘यसका लागि पढाउने जनशक्तिको समस्या छ। भाषिक समस्या छ, त्यसैले हामीले निजी र सरकारीका शिक्षकहरूलाई तालिम दिने कार्यक्रम बनाएका छौँ,’ उनले भने।

उनले अहिले पढाउँदै गरेका विद्यालयमा प्रभावकारी नै रहेको पाइएको बताए। ‘स्थानीय पाठ्यक्रम प्रभावकारी हुन्छ, अहिले पढाइ भइरहेकामा रमाइलो गरी विद्यार्थीहरूले पढेका छन्, ज्ञान लिएका छन्,’ उनले भने। 

उनका अनुसार महानगरपालिकाभित्र ४० वटा सरकारी विद्यालय छन् भने मन्टेश्वरीसहित २ सय ३७ निजी विद्यालयहरू छन्। 

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका प्रमुख सुवेदीले पनि सबै विद्यालयहरूमा प्रभावकारी रूपले स्थानीय पाठ्यक्रम पढाउन स्थानीय तहले पहल गर्दै आएको बताए। आवश्यक तालिम दिँदै आएको र अझै दिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.