|

विराटनगर : सबैको परिवारमा बुवाआमाले छोराछोरीसँग बिताएका क्षण हुन्छन्। त्यही क्षण कालान्तरसम्म सम्झना बनेर  मानसपटलमा अमिट भएर गाडिएको हुन्छ। राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशीको सम्मानपछि भेटिएका उनका बुवा जयनारायण राजवंशीले आफ्नो छोराको बाल्यकाल यसरी नै साझा गर्दै थिए।

नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटर ललित र दिपेश कँडेललाई सम्मान गरिरहँदा ६० वर्षीय जयनारायणको चाउरीले भरिएको अनुहारमा खुशीका रेखा पनि तन्किएका थिए।

त्यसो त छोराको सम्मान र नेपालको जितमा खुशी साट्ने ललितका बुवामात्र थिएनन्‚ सँगै उनकी आमा सुककुमारीदेवी पनि उत्तिकै मक्ख थिइन्। ललितका बुवा उनको बाल्यकालदेखिको क्रिकेट मोहका कुरा निकै उत्साहका साथ सुनाउँदै थिए। 

विराटनगर महानगरपालिका-१४ मा एउटा सामान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बल रहेको उनका बुवाले सुनाए।

‘यो सानो हुँदा खाली क्रिकेट खेल्न कहाँ जान्थ्यो–जान्थ्यो। उसका साथीहरूले भन्थे, ललित राम्रो खेलाडी हुन्छ भनेर’, उनी हाँस्दै सुनाउँछन्, ‘हामीले केही गरेनौं आफ्नै बल र मिहिनेतले यहाँसम्म आइपुग्यो।’ 

ललितकी आमाले पनि उनले खेलेरै देशको नाम चिनाउँछ भन्ने कुरा सपना झैँ लागेको बताइन्। उनी भन्छिन्, ‘हामी गरिबलाई कहाँ सम्भव थियो र? तर मेरो छोराले सानैदेखि यो खेलमा धेरै मिहिनेत गरेको छ।’ 

स्कुलमा खाजा खान दिएको पैसा जोहो गरेर क्रिकेट खेल्न चाहिने बल‚ ब्याट‚ स्टम्पलगायत सामाग्री ल्याउँदै खेलमा अगाडि बढेको ललितको ‘अर्थोडक्स स्पिन’ यात्राले एकदिन सफलताको गन्तव्य पछ्याउला भन्ने विश्वास उनको बुवाले कल्पनासमेत गरेका थिएनन्। 

छोराको सफलतासँगै खुशी छाएको राजवंशी परिवारका लागि मात्रै नभएर यति वेला कोशी प्रदेशका लागि ललितको खेल क्रिकेटमा गर्विलो इतिहास बनेको छ।

स्कुल पढ्दा क्रिकेट खेलेर समय खेर फालेको भन्दै अरु अभिभावकजस्तै ललितका बुवाले पनि गाली नगरेका पनि होइनन्।

कहिलेकाहीँ  क्रिकेट खेलेर पढाइ बिग्रिएको भन्दै ललितले कुटाइ खाएको नमिठो सम्झनाका किस्सा सुनाउँदै उनका बुवा भन्छन्, ‘मैले छोरालाई पढाइ बिग्रियो भन्दै गाली पनि गरेँ, झापड पनि हानेँ तर पनि उसले खेल्न छोडेन।’ बुवाको गाली र झापडलाई ललितले चुप लागेर टार्ने गरेको हाँस्दै उनी सुनाउँछन्।

त्यसो त ललितको धैर्य, सहनशीलता र निरन्तरताले लक्ष्यमा पुग्न सफल भएको भन्दा कुनै दुई मत नहुने उनका नजिकका साथीहरू बताउँछन्। 

छोराको खेल हेर्न ९ बजेदेखि काम छोडेर बसेको सुनाउने जयनारायण उनी आफ्नी श्रीमती (ललितकी आमा) तर्फ हेर्दै नेपालको नाम राख्ने छोरा जन्माउने श्रीमती पाएकोमा आफू भाग्यशाली रहेको  सुनाउँछन्।

‘छोराको खेल  सुरु हुने दिन म सबै काम छोडेर क्रिकेट हेर्न बसेँ, छोराको खेल देखेर ममात्रै होइन सारा परिवार खुशी भएका थियौँ’, श्रीमतीतर्फ  हेर्दै उनी भन्छन्, ‘यसलाई हेर्छु म, देशको नाम रोशन गर्ने छोरा जन्माएको छ, मलाई अचम्म पनि लाग्छ र भाग्यशाली पनि लाग्छ।’

विश्वकप खेल्ने  क्वालिफायरका लागि छनोट भएको ललितसहितको नेपालको टिम विश्वकप खेल्न मैदानमा उत्रिएको हेर्ने ठूलो धोको रहेको उनी सुनाउँछन्।

त्यसो त कतिपय नेपाली खेलाडीले आर्थिक सामाजिक अवस्थाकै कारण खेल जीवन जोखिममा परेका प्रशस्त उदाहरण नभएको होइन तर नेपाललाई चिनाउने खेलाडीहरूलाई राज्यले विशेष ध्यान दिनुपर्ने समेत उनले बताए। 

क्रिकेट खेल के हो? भन्ने जानकार भएदेखि यता खेल-यात्रा अगाडि बढाएका ललितले सन् २०१४ देखि व्यावसायिक रुपमा क्रिकेट खेल्न सुरु गरेका थिए। सन् २०१८ देखि नेपालको सिनियर टिममा डेब्यु गरेको बताउने उनले पहिलो खेल जिम्बावेविरुद्ध अन्तरराष्ट्रिय एकदिवसीय जिम्बावेमै खेलेको बताए।

उनले नेपालसहित आफ्नो प्रदेशलाई देशभर चिनाउन पाउँदा खुशी लागेको बताए। आफू सम्मानित हुँदा धेरै प्रसन्नता महसुस भएको बताउँदै उनले भने, ‘प्रदेशको खेलकुद महासंघले सम्मान गर्दा आउने पुस्ताहरूलाई पनि क्रिकेट खेलमा आउन प्रेरणा मिल्छ जस्तो लागेको छ।’

नेपाल खेलकुद महासंघ मोरङले आज (मंगलबार) सिनियर टोलीका खेलाडी राजवंशी र यू–१९ राष्ट्रिय टोलीका सदस्य दिपेश कँडेललाई नगद २५ हजार रूपैयाँसहित सम्मान गरेको  छ। उनीहरूलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले समेत सम्मान गर्ने निर्णय गरेका छन्।

दीपेशले युएईको यू–१९ टोलीविरुद्ध ह्याट्रिक गर्दै जित्नैपर्ने खेलमा नेपाली टोलीलाई जिताउँदै यू–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ललितले विश्वकप लिग–२ का शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.