चर्च ब्वाइजको बाहुल्यता
चर्च ब्वाइजको बाहुल्यता
ललितपुर : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
बुधबारदेखि चैत १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले २३ सदस्यीय टिमको मंगलबार घोषणा गरेका हुन्। प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्दै छन्।
राष्ट्रिय टिमका नियमित खेलाडीहरु भटाभट विदेश पलायन हुन थालेपछि टिम बनाउन नै कठिन भएको एन्फाले बताएको छ। नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा भएका ५ चरणको खेलमा गरेका प्रदर्शनका आधारमा खेलाडी छनोट गरेर टोली तयार पारेका छन्।
जसमा ७ जना नयाँ खेलाडीले यसपटक मौका पाउने भएका छन्। गोलकिपर सातदोबाटोका अभिषेक बराल, डिफेण्डरहरु एपिएफका सनिस श्रेष्ठ र खुमलटारका पदम भट्टराई, मिडफिल्डर एपिएफका मणिकुमार लामा र नवीन लामा तथा फरवार्ड मनाङका सुमित श्रेष्ठ र सातदोबाटोका दीपकसिंह ठकुरी पहिलोपल्ट राष्ट्रिय टिममा समावेश भएका छन्।
९ क्लबका २१ खेलाडी
ए डिभिजनमा रहेका १४ मध्ये ९ वटा क्लबका खेलाडी राष्ट्रिय टिममा अटाएका छन्। २३ मध्ये २१ जना ए डिभिजन क्लबमा खेलिरहेका खेलाडी छन् भने २ जना विदेशमा ब्यावसायिक फुटबल खेलिरहेका खेलाडी छन्।
मध्यपंक्तिका खेलाडी रोहित चन्द इन्डोनेसियन क्लब पेरसिक केदिरीबाट खेलिरहेका छन् भने गोलरक्षक किरण चेम्जोङ भारतीय फुटबल क्लब पन्जाब फुटबल क्लबबाट खेलिरहेका छन्। सबैभन्दा धेरै ४ जना चर्च ब्वाइज क्लबबाट रहेका छन्।
यसैगरी सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबका ३/३ जना खेलाडी राष्ट्रिय टोलीमा पर्दा लिगको शीर्षमा रहेको सातदोबाटोका २ जना खेलाडीले राष्ट्रिय टिममा मौका पाएका छन्।
मच्छिन्द्र क्लब, खुमल्टार युथ क्लब र जावलाखेल युथ क्लबका १/१ जना खेलाडीले थ्री नेसन्स कपमा नेपाली टोलीबाट खेल्ने अवसर पाएका छन्।
नेपाली टोलीमा चर्च ब्वाइजका डिफेण्डर अनन्त तामाङ, मिडफिल्डर एरिक विष्ट, फरवार्ड अन्जन विष्ट र आशिष चौधरी रहेका छन्। मनाङका गोलरक्षक दीप कार्की, मिडफिल्डर कमल थापा र फरवार्ड सुमित श्रेष्ठ अन्तिम २३ मा परेका छन्।
एपिएफका डिफेण्डर सनिस श्रेष्ठ, मिडफिल्डर नवीन लामा र मणिकुमार लामा अटाएका छन्। त्रिभुवन आर्मीका डिफेण्डर विकास खवास, मिडफिल्डर भरत खवास र फर्वाड नवयुग श्रेष्ठ परेका छन्।
संकटाका डिफेण्डर निशान्त खड्का, फरवार्डद्वय आयुष घलान र मनिष डाँगी पनि टिममा परे। सातदोबाटोका गोलरक्षक अभिषेक बराल र फर्वाड दीपक सिंह ठकुरी तथा खुमल्टारका डिफेण्डर पदम भट्टराई, जावलाखेलका डिफेण्डर आदित्य चौधरी र मच्छिन्द्र क्लबका मिडफिल्डर पुजन उपरकोटी पनि अन्तिम २३ मा छन्।
नेपालको पहिलो खेल लाओससँग
त्रिदेशीय फुटबलको पहिलो खेलमा बुधबार नेपालले लाओससँग खेल्दै छ। यो खेल साँझ ६ बजे दशरथ रंगशालामा शुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिभिआइपीतर्फ १ हजार रूपैयाँ टिकट दर राखिएकोे जनाएको छ।
चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ। ३ टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा २ टिमले फाइनल खेल्नेछन्। फिफा विण्डोमा पारेर भुटान र लाओसलाई आमन्त्रण गरी अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष २ टोलीले उपाधिका लागि भिड्नेछन्। फाइनल खेल चैत १७ गते हुनेछ। लिगका ३ खेल फिफामा काउण्ट भए पनि फाइनल खेल भने यसमा गणना नहुने प्रतियोगिता निर्देशक सन्जीव मिश्रले जानकारी दिए।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार अमेरिकी डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउँदा हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन्। प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउनेछ।
नेपाली राष्ट्रिय टिम
गोलरक्षक : किरण कुमार चेम्जोङ , दीप कार्की र अभिषेक बराल
डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का
मिडफिल्डर : रोहित चन्द, भरत खवास, पुजन उपरकोटी , एरिक विष्ट, नवीन लामा, कमल थापा र मणिकुमार लामा
फरवार्ड : अन्जन विष्ट, आयुश घलान, नवयुग श्रेष्ठ, मनिष डाँगी , दीपकसिंह ठकुरी, आशिष चौधरी र सुमित श्रेष्ठ
तपाईंको ईमेल गोप्य राखिनेछ ।