|

सुर्खेत : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले मंगलबार भौतिक पूर्वाधार, ऊर्जा तथा जलश्रोत मन्त्रालयका सचिवसमक्ष एक ध्यानाकर्षण पत्र पेश गरेको छ।

क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य रामकिशोर रावलले संयुक्त रुपमा मन्त्रालयका सचिव देवराज निरौलालाई ध्यानाकर्षण पत्र पेश गरेका हुन्।

पत्रमा कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णालीको अभियानलाई सार्थक बनाउन क्यान महासंघले पूर्ण साथ र सहयोग रहि आएको जनाउँदै आधुनिक प्रविधि आत्मसात गर्दै राज्यले प्रवाह गर्ने सेवा सुविधा पनि प्रविधिमैत्री हुनु आजको आवश्यकता रहेको जनाइएको छ।

पत्रमा सरकारअन्तर्गतको महालेखा नियन्त्रण कार्यालयले राजश्व भुक्तानी गर्ने विद्युतीय पोर्टललाई कार्यान्वयनमा ल्याएको सर्वविदितै रहेको तर कर्णाली प्रदेश सरकारको त्यस मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालयले भने विद्युतीय प्रणाली लागू नगरेकाले त्यसतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्यान महासंघका केन्द्रिय सदस्य रामकिशोर रावलले यातायात व्यवस्था कार्यालय सुर्खेतमा अहिलेको डिजिटल प्रविधिको समयमा पनि राजश्व बुझाउन घण्टौं लाइनमा बस्नुपर्ने समस्या हटाउन आफूहरुले मन्त्रालयको ध्यानाकर्षण गराएको बताए।

महासंघ सुर्खेतका अध्यक्ष लोकेन्द्र गिरीले हामीले कर्णालीलाई डिजिटल बनाउने अभियान अगाडि बढाउन मन्त्रालयमा ध्यानाकर्षण बुझाएको बताए। यातायात व्यवस्थाका कार्यालयका प्रमुख जिल्लाबाहिर रहेकोले अर्को दिन ध्यानाकर्षण पत्र बुझाइने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.