नेविसंघविरुद्ध मोर्चाबन्दी

|

धनगढी : नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा अझै पनि एक अर्काको अस्तित्व स्वीकार नगरिरहेको अवस्था छ।

एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै नमान्ने अभिव्यक्ति दिएका थिए तर पछिल्लो समय भने ओली समाजवादीप्रति लचिलो बन्दै गएको देखिन्छ।

यही अवस्थामा विद्यार्थीको स्ववियु निर्वाचनमा भने एमाले र समाजवादीका विद्यार्थी संगठनबीच तालमेल र गठबन्धन भएको पाइएको छ। केन्द्रमा दुबै पार्टीका नेताहरूबीच कलहको अवस्था हुँदा जिल्लास्तर र तल्लो तहमा भने सहमति र तालमेलको माहोल देखिएको हो।

बुधबार हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिमकै सबैभन्दा ठूलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा यी दुवै पार्टी एकै ठाउँमा उभिएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय मातहतको प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी रहेको उक्त क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका छन्।

कम्युनिस्ट नेताहरुले यसलाई कम्युनिस्ट एकताको सन्देश दिने उदाहरणको रुपमा पनि चित्रण गरेका छन्। उक्त क्याम्पसमा नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको छ भने पूर्व माओवादी र माओवादीहरुले अलग्गै मोर्चा निर्माण गरेर चुनाव लडिरहेका छन्।

यहाँ नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट अध्यक्षमा यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन्। 

नेविसंघका खत्री एकल रुपमा, एमालेका जोशी एमाले र समाजवादीको संयुक्त प्यानलबाट, अखिल क्रान्तिकारीका सुनार माओवादी र पूर्व माओवादीहरुको प्यानलबाट सभापतिको उम्मेदवार छन्।

नेविसंघविरुद्ध मोर्चाबन्दी

मंगलबारमात्र नेकपा एमाले र एकीकृत समाजवादीबीच कैलाली बहुमुखी क्याम्पसमा नेविसंघविरुद्ध मोर्चाबन्दी गर्नेबारे छलफल र सहमति भएको छ।

एमालेका कैलाली सचिव डेजी पाण्डे र नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष विमल जोशी, सहसचिव दीर्घ कापडीबीच स्ववियुको निर्वाचनबाट एमाले र नेकपा एकीकृत समाजवादी एक भएर जाने छलफल भएको हो।

एकअर्कासँग मिलेर जाने सहमतिअनुसार निर्वाचनमा आफूहरु होमिएको र छलफल सकारात्मक भएको उनीहरुले बताएका छन्। नतिजा पनि सकारात्मक आउने उनीहरुको दाबी छ।

अनेरास्ववियुको प्यानलमा समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियुका जिल्ला अध्यक्ष रमेशबहादुर बोहरा सचिव पदका उम्मेदवार छन्। कैलालीमा त्रिवि अन्तर्गतका १० क्याम्पसमध्ये एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ५ क्याम्पसमा जित हासिल गरिसकेको छ।

यस्तै क्रान्तिकारीले ४ र नेपाल विद्यार्थी संघले १ क्याम्पसमा जित हासिल गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भने बुधबार निर्वाचन हुँदैछ।

यहाँ विगत २२ वर्षदेखि अनेरास्ववियुबाहेक अन्य विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन जित्न सकेका छैनन्। अहिले पनि अनेरास्ववियु आफ्नो पुरानो विरासत कायम गर्ने रणनीतिमा रहेको छ भने अन्य पार्टी अनेरास्ववियुको विरासत भत्काउन प्रयासरत छन्। यहाँ ४ हजार ३ सयभन्दा बढी मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.