|

काठमाडौं : नेपाल भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने खेलको उद्घाटनमाआज साँझ साढे पाँच बजे आयोजक नेपाल र लाओस भिड्दैछन्।

दशरथ रंगशालामा हुने खेलमा छोटो समयको तयारी चुनौतीपूर्ण भएको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बताएका छन्। उनले छोटो समयलाई स्वीकारेर घरेलु मैदानमा आयोजना हुन फुटबल प्रतियोगिता खेल्ने जनाए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरणले छोटो समयमा तयारी भएको र चुनौतीपूर्ण रहेको जनाएका हुन्। भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडी सबै फिट रहेको र लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए। कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एक–अर्कालाई विश्वास गरेर अगाडि बढ्ने जनाए।

यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निर्माण गरेको जानकारी दिए। तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनको भनाइ छ। लिगका दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निर्माण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने उनको दाबी छ। एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुणसमेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने जनाए।

यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीबिरुद्ध राम्रो खेल्ने जनाए। उनले भविष्यका लागि टिम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको जनाए। तर नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने उनको भनाइ छ। लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुसी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको धारणा राखे।

यता पछिल्लो संस्करणको एसियाली खेलकुदपछि पहिलोपटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको जनाए। दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको उनको भनाइ छ। भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साही रहेको जनाए।

सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। चैत ११ गते भुटान र लाओस भिड्नेछन्। फाइनल खेल चैत १७ मा हुनेछ।

प्रतियोगितका लागि टिकटदर सामान्य प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार राखिएको छ। विजेताले पाँच हजार डलर पुरस्कार पाउने भएको छ। प्रतियोगिता प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटिभी प्लसले गर्नेछ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.