|

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँ रकम जनकपुरधामको रंगशाला निर्माणमा खर्चिने बताएका छन्।

जनकपुरधाममा बनाइने धनुष आकारको श्री रामजानकी अन्तरराष्ट्रिय बहूद्देश्यीय रंगशालाका लागि छुट्याइएको जग्गा र त्यसमा भइरहेको खेलकुदका गतिविधि अवलोकनका लागि बुधबार मैदानमा पुगेका मुख्यमन्त्री यादवले उक्त रकम रंगशाला निर्माणमा पहल गर्ने  बताए।

यसअघिका स्थानीय र प्रदेश सरकारले उक्त रकम सदुपयोग गर्न नसकेको उनको गुनासो छ। मुख्यमन्त्री यादवले आवश्यक थप रकम प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरे।

मुख्यमन्त्री यादवले त्यसका लागि राष्ट्रिय खेलकुद ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना गर्ने प्रस्ताव राखिसकेको बताए।

राखेप सदस्य सचिव टंकलाल घिसिङसँगको छलफलमा त्यसका लागि कार्यदल समेत गठन भएको जनकपुरधामका मेयर मनोजकुमार साहले जानकारी गराए। 

मधेश खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ। कार्यदलले मधेशमा रहेका खेलकुदका चल अचल सम्पत्ति खोज र अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित ११ औं राष्ट्रिय खेलकुद आयोजनाको सम्भाव्य अध्ययन गर्ने जिम्मेवारी तोकिएको हो।

स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्रीसँग रंगशाला पर्ने क्षेत्रका सांसदहरू दीपेन्द्र ठाकुर र शेषनारायण यादव पनि सहभागी थिए। उनीहरूले रंगशाला बनेपछि क्रिकेट, कबड्डी, भलिबल सहितका जनकपुरधाम र मधेशको विरासत पुन: फिर्ता हुने बताए।​

रंगशाला निर्माणमा लागेका दिनेश पुर्वे, गुड्डु पाण्डे, आकाश पाण्डे, क्रिकेट प्रशिक्षक नवीन सिंह लगायतले हालसम्मको कार्यप्रगतिबारे ब्रिफिङ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.