|

म्याग्दी : बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन्। विगत पाँचवर्षदेखि मधुरो मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा बुधबार सम्पन्न तीनदिने निःशुल्क आँखाको शल्यक्रिया शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्न सक्ने भएका हुन्।

जिल्लाको बेनीनगरपालिका– २ खबराका खड्का शल्यक्रिया पश्चात् स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकहरूसँग गीत गाएर नाँच्दै खुसी व्यक्त गरे। डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताए।

त्यसैगरी बेनीनगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो। बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया पछि आँखा देखेको खुसीमा चिकित्सककै अघि नाचेर रमाइलो गरे।

बेनीनगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हातपाखुरासँगै आँखाले पनि धोका थियो।

दिलबहादुरको दुई वर्ष अगाडि शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुवै आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खानाखानेदेखि शौचालयसम्म आफन्तको साहरामा पुग्ने गर्दथे।

७३ वर्षीय भिमबहादुर थापा र ६६ वर्षीय समबहादुर थापा आँखा बन्द भएपछि करिब दुई वर्ष निकै कष्टपूर्ण तरिकाले विताए।

तीनै जना एकल पुरुष हुन्। श्रीमान र श्रीमतीभनेको एक रथका दुई पांग्रा हुन्। जीवनमा सुखःदुखका लागि एकदम आवश्यक भए पनि उनीहरूले पाखुरामा बल हुदाँसम्म मजदुरी गरी जीवन बिताए।

समाजमा एकल पुरुष पनि साहराविहीन जस्तै भएको महसुस बुढेकालमा आँखा नै बन्द भएपछि उनीहरूले महसुस गरेका थिए।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट दुवै आँखा खुलेपछि वृद्धहरूमा छुट्टै चमक देखिन्छ। आँखाबन्द भएपछि दिनपनि राज जस्तै मानेर बिताउनु परेकाहरूका लाई मोतियाविन्दुको शल्यक्रियाले संसारलाई फेरी हेर्न मौका पाएका छन्।

 ‘अब पकाएर खान सक्छु, मागेर ज्यान पाल्न पनि सक्छु’, वृद्ध दिलबहादुरले भने। उनले आँखा खुलेपछि तन्नेरी महसुस भएको बताउँदै घरायसी काम गर्न सक्ने भएर फर्किएको बताए।

‘अब मैले नयाँ आँखाबाट सबैलाई हेर्न पाउँछु,जीवनको अन्तिम इच्छा पनि पूरा भयो’ वृद्ध भिमबहादुरले भने। उनले आफ्नो साहरा एउटा लौरो र अब आँखा भएको बताए।

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसालबाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गएको आइतबारदेखि मंगलबार (चैत ५ देखि ७) गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो।

तीमध्ये ३ जना रोगीहरूको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले बताए।

‘एकलमहिला र पुरुषलाई बरदान नै भयो,घरमा एक्लै भएकाहरूले अव घरायसी काम गर्न सक्ने भए’, अध्यक्ष बानियाँले भने।

उनका अनुसार ८ सय ६९ जना आँखाका विभिन्न रोगी तथा बिरामीहरू लाभान्वित भएका छन्।  निःशुल्क आँखाजाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो। शिविरको पहिलो दिन आइतबार १६ जना, दोस्रो दिन सोमबार ३२ जना र तेस्रो तथाअन्तिम दिन मंगलबार ३४ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै मोतियोविन्दु रोगको उपचार गर्न पाउँदा ज्येष्ठ नागरिक दंग परेका छन्।

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन ३ सय १३ जना, दोस्रो दिन ३ सय ५९ र तेस्रो दिनमा १ सय ९७ जनाले आँखाको चेक जाँच गर्नुका साथै परामर्श सेवा लिएका थिए। शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर अन्जु गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बिरामीहरूमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए।

शिविरमा आएका बिरामीहरूमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ भने थप उपचारका लागि रिफर गरिएको जनाइएको छ। एक जनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.