|

दाङ :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण देश र जनताको हितमा नभएको बताएका छन्।

बिहीबार प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको अर्थव्यवस्थाले समेत अहिलेको समीकरणलाई नरुचाएको भन्दै अर्थतन्त्रमा निराशाका बादलहरू देखिएको बताए । 

‘देशको अर्थतन्त्र ओरालो लागेको थियो । एमालेको सहभागितामा नयाँ सरकारले बन्नेबित्तिकै सुधारका सङ्केतहरू देखिन थालेका थिए।’ उनले भने, ‘पूँजी बजारमा सकारात्मक संकेत देखिएको थियो । मुलुकको विदेशी मुद्राको सञ्चितीमा उल्लेखनीय सुधार आएको थियो । राजश्व वृद्धि भएको थियो । घट्दो मात्रको रेमिटेन्समा उल्लेखनीय वृद्धि भएको थियो।’

उनले सरकार सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बेलामा नाटकीय रुपमा पुरानै समीकरणतर्फ फर्किने खेल भएको पोखरेलले आरोप लगाए । देशभक्त राजनीतिक शक्तिलाई सरकारबाट बाहिर राख्न चाहने भित्री र बाहिर तत्वको परिणामका रुपमा जनताले रुचाएको र मुलुकको अर्थ व्यवस्थालाई सकारात्मक संकेत दिएको समीकरण बदलिएको पनि उनको भनाइ छ।  

उनले अहिले फेरि मुलुकको अर्थतन्त्रमा निराशाका बादलहरू मडारिन थालेको पनि बताए। महासचिव पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको पनि उल्लेख गरे। मुलुकको भविष्यलाई केन्द्रबिन्दुमा राखेर एमालेले  गत फागुन ५ गतेदेखि मिसन ग्रास रुट अभियानमा जुटेको पनि उनको भनाइ छ।

मिसन ग्रास रुट अभियान नेपालको राजनीतिमा जनमतलाई ध्रुवीकरण गर्ने महत्व पूर्ण आधारका रुपमा स्थापित हुने पनि उनको भनाइ थियो । 

देशका पक्षमा मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा काम गर्ने बेलामा आफूहरूमाथि बाह्य शक्तिहरूबाट  घेराबन्दी गर्ने काम भएको पनि उनले आरोप लगाए ।  यस्तै विकास र समृद्धिको नेतृत्व गर्ने गर्दा खेरि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्दा पनि एउटा दलका विरुद्धमा ५ दल मिलेर घेराबन्दी गर्ने काम भएको पनि उनको भनाइ छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.