|

घोराही : जनवादी गायक जीवन शर्माले भाषण गर्नेहरूले गीत गाउनेलाई वास्ता नगरेको गुनासो गरेका छन्।

उनले गणतन्त्र प्राप्तिका लागि जनवादी गायक, गीतकार, संगीतकार, कवि, लेखक, कलाकारको ठूलो योगदान भए पनि अहिले भाषण गर्न सक्ने नेताहरूको मात्रै चर्चा भएको बताए।

उनले भने, ‘सबैभन्दा सुन्दर र शक्तिशाली सिर्जना गर्ने जनवादी कलाकारहरू हेपिएका छन्। जसले स्वतन्त्रता र समाजका लागि गीत गायो। गणतन्त्रका प्राप्तिका लागि एउटा हातमा किताब र अर्को हातमा बन्दुक बोक्यो। उसको यो गणतन्त्रमा अस्तित्व रहेन। फरक यति हो- हामीले गीत गायौँ। नेताहरूले भाषण गरे।’

उनले आफूले गाएका गरिब दीनदुःखीका गीत झन् सान्दर्भिक हुँदै गएको बताए। बिहीवार घोराहीमा राष्ट्रका लागि संगीत अभियात्राद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्ना गीतहरू असान्दर्भिक भइदिए हुन्थ्यो भन्ने लागे पनि अहिले झन् सान्दर्भिक हुँदै गएको बताए।

उनले भने, ‘अब त गरिब दीनदुःखीका गीतहरू गाउन नपरे हुन्थ्यो जस्तो लाग्छ। समाजमा कोही धनी र कोही गरिब हुँदासम्म मैले गरिबका गीतहरू गाइरहनु पर्छ। त्यसैले मेरा गीतहरू सान्दर्भिक भइरहेका छन्। गरिबहरू नभइदिएको भए समृद्धिका गीतहरू कहाँ गाइन्थ्यो होला।’

यसैगरी आफूहरूले वामपन्थी दलहरू आपसमा झगडा होइन मिलेर हिँड्नुपर्छ भन्ने सन्देश दिन देशव्यापी संगीत अभियान चलाएको पनि बताए।

यसैगरी जनवादी गीतकार तथा संगीतकार मणि थापाले देशमा मौलिक संस्कृति नभएको बताए। उनले देशमा विदेशी संस्कृति हावी भइरहेको भन्दै नेपालका हरेक वर्गसंघर्षको सबै आन्दोलनमा जनवादी कवि, कलाकार, सर्जकहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनले भने, ‘राज्यले जनवादी कला र संस्कृतिलाई संरक्षण गर्न सकेन। सांस्कृतिक रूपान्तरणका माध्यम लेखक र कवि कलाकारलाई राज्यले संरक्षण गर्नुपर्छ। मौलिक संस्कृति कमजोर हुँदै छ भने देशमा सही संस्कृति छैन।’

मुट्ठीभर मान्छे र ठेकेदारहरूले देश चलाएका भन्दै उनले  देशको यो अवस्था देखेर जनवादी कलाकारहरू सन्तुष्ट नभएको पनि बताए। उनले नेताहरूलाई सुधार्न पनि यो अभियान शुरु गरेको पनि प्रष्ट पारे।

जनवादी गीतकार तथा संगीतकार गायक उदय श्रेष्ठ, कर्ण विद्रोही, मोहित श्रेष्ठ, जनवादी संगीतकार तथा गायिका नीलिमा पुन, प्रगति महरा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर,  कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा लगायत सहभागी थिए।

संगीत अभियात्राको आयोजनामा शुक्रबार घोराहीमा जनवादी सांगीतिक कार्यक्रम हुँदै छ। कार्यक्रमका लागि गायक जीवन शर्मा,मणि थापा, चिरन सीसहितका कलाकार दाङ आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.