|

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। 

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा बिहीबार प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा उनले यो जानकारी दिएकी हुन्। मन्त्री शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारतलाई दिएकी छन्।

उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा प्राविधिक विषयवस्तुमा धेरै छलफल भएको बताइन्। उनले भारतसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरुमा पनि सहज हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन्।

मन्त्री शर्माले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजतापूर्वक दिन पनि भारतसँग आग्रह गरेको बताइन्। उनले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउन पनि भारतीय मन्त्रीहरुसँग कुरा राखेको जानकारी दिइन्। 

‘भारतका मन्त्रीहरुसँगको कुराकानीमा हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्रसम्म हाम्रो फाइबर बिछ्याउने कुरामा र सञ्चार क्षेत्रमा भएका विषयहरुलाई उठाएका छौँ‚’ मन्त्री शर्माले भनिन्, ‘सुनौली नाकाबाट मात्रै धेरैजसो समान जान्छ, त्यसैले अन्य नाकाहरु पनि सञ्चालन गर्न र हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजतासँग दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्ने कुरा उठाएका छौँ।’

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन्। भारत आफूले राखेका मागहरुमा सकारात्मक रहेको उनको भनाइ छ। 

‘नेपाल पनि डिजिटल युगमा प्रवेश गर्दैछ र भारत यसमा अगाडि छ‚ भारतले नेपाललाई उदारताका साथ हेरोस् टेक्नोलोजी सिकाउने कुरामा भन्ने कुरा भएका छन्। आइटी क्षेत्रमा नेपालमा दक्ष जनशक्ति विकास गर्न आइटी र साइबर क्षेत्रको अध्ययनमा भारतले हेरोस् भन्ने कुरा उठाएका छौँ,’ उनले भनिन्‚ ‘यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ। उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ। सरकार विस्तार भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ‚ अप्रिलमा हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.