एकदिवसीय मान्यता कायमै राखे बढाउने पूर्वशर्त थियो : क्यान
एकदिवसीय मान्यता कायमै राखे बढाउने पूर्वशर्त थियो : क्यान
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शनमा सुधार ल्याएर पछिल्ला ३ शृंखलामा अविश्वसनीय जित दिलाउन सफल भारतीय प्रशिक्षक मोन्टी देसाईको मासिक पारिश्रमिक २० प्रतिशतले बढाएको छ।
सम्झौताअनुसार मोन्टीले पहिले १० हजार अमेरिकी डलर पारिश्रमिक पाउँथे भने अब भएको वृद्धिपछि उनले मासिक १२ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। उनले यही चैत १८ गतेदेखि वृद्धि भएको पारिश्रमिक पाउने बताइएको छ।
मोन्टीलाई नेपाली टोलीको प्रशिक्षक नियुक्त भएको दुई महिना पुग्नलाग्दा नै क्यानले उनको पारिश्रमिक बढाएको हो।
क्यान स्रोतका अनुसार सम्झौताका वेलामा नै नेपालको एकदिवसीय मान्यता कायम राख्न सफल भए प्रशिक्षकको पारिश्रमिक वृद्धि गर्ने समझदारी भएको थियो।
स्रोतले मोन्टीले आफूले नेपाली टोली सम्हालेपछि नेपालको एकदिवसीय मान्यता कायमै राख्नुका साथै विश्वकप क्वालिफायर्समा पनि पुर्याउन सफल भएकाले पहिले गरेको बाचाअनुसार उनको पारिश्रमिक बढाइएको हो।
उनी गएको माघ २३ गते नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए। औपचारिक रुपमा नियुक्ति पाउनुअघि नै उनले टोलीको प्रशिक्षण शुरु गरिसकेका थिए।
उनको प्रशिक्षणका नेपाली टोलीले विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा दुइटा र युएईमा एउटा एकदिवसीय शृंखला खेलेको थियो। जसमध्ये घरेलु मैदानमा खेलेका दुवै श्रृंखला नेपालले क्लिन स्विप गरेको थियो।
युएईमा भएको शृंखलाका ४ मध्ये ३ खेल जित्न नेपाल सफल भएको थियो अर्थात उनको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमध्ये अविश्वसनीय रुपमा ११ खेल जितेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।