‘चाहेको भए राष्ट्रपति बन्न सकिन्थ्यो तर माधव नेपाल धोकेबाज भन्थे,राम्रो हुन्थ्यो?’

|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो नेकपा ब्यूँताउन प्रस्ताव गरेका छन्। 

शुक्रबार नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा ब्यूँताउन प्रस्ताव गरेको बताए। 

‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,’ उनले प्रश्न गरे। 

अध्यक्ष नेपालले आफूलाई कमजोर नआँक्न चेतावनी दिएका छन्। प्रतिनिधिसभामा १० सिट रहे पनि आफूहरू निर्णायक हुने उनको भनाई छ। 

‘हाम्रो उपस्थितिले मात्र ठूलो परिवर्तन ल्याइदिन्छ। बुझ्दैनन् भने के गर्न सकिन्छ? हाम्रो हैसियतलाई अवमूल्यन गर्ने काम नहोस्। हाम्रो खुबी क्षमता कसैले पनि अन्डरमाइन्ड नगर्नु, हामी स्क्छौं गर्न। हाम्रो शक्ति १० वटा भए पनि निर्णायक हुनसक्छ,’ उनले भने। 

अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धनलाई मिलाएर लैजानुपर्ने बताए। उनले १० वटा पार्टीले साथ नदिए पनि साथ दिनेका निम्ति के भूमिका खेल्नुपर्छ आफूहरू तयार रहेको बताए। अध्यक्ष नेपालले आफूहरूले चाहेको भए राष्ट्रपति बन्न सक्ने बताए। 

‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे। राम्रो हुन्थ्यो? राष्ट्रपति पाउनु ठूलो थिएन। धोका दिने गरी अघि बढ्न चाहिएन। कांग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.