|
प्रदेशसभा बैठकमै मुख्यमन्त्रीलाई एमालेका सबै मन्त्रीको राजीनामा बुझाउँदै संसदीय दलका नेता जगन्नाथ थपलिया।

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गरेका हुन्।

केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले एमालेलाई धोका दिएर समीकरण फेरेको आरोप लगाउँदै थपलियाले सरकारबाट बाहिरिनु परेको उल्लेख गरे। 

केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्दा एमालेको सहयोग लिएको तर पछि समीकरण फेरेकोप्रति उनले खोलो तर्‍यो लौरो बिर्सियो जस्तो गरेको टिप्पणी गरे।

उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए। 

एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छि विकास मन्त्री थिए। 

पुस २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले शुक्रबार दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

यसअघि माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा जम्कट्टेलले १ सय १० सदस्यीय प्रदेशसभामा १ सय ५ सांसदको समर्थन प्राप्त गरेका थिए। फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि उनले संविधानअनुसार दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। 

उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.