संसद्लाई निर्वाचन क्षेत्र जान ‘सुरक्षा धम्की’

|

विराटनगर : प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशमा अशान्ति छाएको छ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विरोध आयोजना गरिरहेका छन्। आन्दोलन र विरोधकै कार्यक्रमअन्तर्गत चैत ५ गते आइतबार विरोध प्रदर्शन भयो।

सोही दिन स्थानीय प्रशासनले ६ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो। त्यसबीच पनि कोशी नामको विरोधमा उर्लिएको जनसागर निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ अघि बढ्यो। त्यसै क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप शुरु भयो।

भीड नियन्त्रण गर्न प्रहरीले प्रहार गरेको अश्रुग्यास पदम लिम्बूको टाउकोमा पुगेर बजारियो। अश्रुग्यासले टाउकोमा लागेको चोट समान्य सम्झिएर उनी दिनभर नाराजुलुसमा सहभागी भए। त्यसो त झडपमा नेपाल प्रहरी पनि घाइते भएका थिए।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर रहेका पदम (लाजेहाङ) दुई दिनपछि अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगे। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको उनी सधैँका लागि अस्ताए।

शुरुमा नदेखिएको टाउकोको असर दुई दिनपछि मात्रै देखिएको जसपा नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए। उनी घटनाका प्रत्यक्षदर्शी समेत हुन्।

‘प्रहरीले प्रहार गरेको अश्रुग्यासले भाइको टाउकोमा लागेको थियो, ब्याट्री जस्तो हुनेरहेछ। त्यसले लागेर फोका उठेको थियो’, उनले भने, ‘सामान्य होला भनेर आन्दोलनमा सहभागी भइयो तर पछि गाह्रो भएर अस्पताल जाँदा भित्र चोट परेको रहेछ। रगत जमेको रहेछ।’

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लिम्बूको शुक्रबार राति साढे २ बजे मृत्यु भएको हो।

उनलाई हेलिकप्टर चार्टर्ड गरी मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेका वेला मृत्यु भएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम याक्तेनले जानकारी दिए।

लिम्बूको मृत्युपछि किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचानसहितको प्रदेश १ पुनः नामांकन अभियान समिति, किराँत राई यायोक्खा र नेपाल शेर्पा संघले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई तीव्रता दिने जनाएका छन्। मृतक लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने र घटनाको जिम्मेवारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सांसद र मन्त्रीलाई सुरक्षा धम्की

पहिचानवादी संघसंस्थाको आन्दोलन चर्कंदै गएपछि कोशी प्रदेशका सांसद तथा मन्त्रीहरूलाई ‘सुरक्षा धम्की’ बढेको छ। फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनकारी हिंसात्मक बन्दै गएका छन्।

त्यसै कारण सांसद आफ्नो निर्वाचन क्षेत्र जान डराएका हुन्। प्रदेशसभा गठन भएको ५ वर्ष बित्दा पनि पहिलो कार्यकालमा प्रदेशले नाम पाउन सकेको थिएन। दोस्रो कार्यकालको शुरुवातमै प्रदेशको नाम राख्न सफल भए पनि दैनिकजसो हुने आन्दोलनले तनाव थपिएको छ।

आफूहरूको मागलाई बेवास्ता गर्दै छापामार शैलीमा प्रदेशको नाम राख्नु खेदजनक रहेको र यो आन्दोलन र यसबाट हुने क्षति मुख्यमन्त्रीसहित ८२ जना सांसदले जिम्मा लिनुपर्ने संयुक्त संघर्ष समितिका प्रतिनिधिको भनाइ छ।

पहिचानको पक्षमा मत नदिएकै कारण प्रदेशले कोशी नाम पाएको सांसदहरूको तर्कमा कुनै तुक नरहेको बताउँदै उनीहरू भन्छन्, ‘राजनीतिक दलहरू यो आन्दोलनलाई कमजोर सम्झेर अघि बढ्नु गलत हो।’

दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ राख्न सफल प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरू मुख्यमन्त्री कार्की र पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बोमाथि भएको आक्रमणले पनि गृहजिल्ला जान सकस भएको हो।

मुख्यमन्त्रीको अभिव्यक्तिले चर्किएको आन्दोलन
आइतबार विराटनगरमा झडप भइरहँदा मुख्यमन्त्री कार्कीले ओखलढुंगा पुगेर नामकरणको विषयमा छलफल नहुने बताएका थिए। यसबाट आक्रोशित आन्दोलनकारीले सोमबार मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झण्डा देखाएका थिए। प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा ‘कोशी’ नामकरण भएको उनको भनाइ थियो।

मंगलबार ताप्लेजुङ पुगेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मार्ने धक्दी दिँदै आक्रमणको प्रयास भएका थिए।

प्रदेशको नाम राखेपछि निर्वाचन क्षेत्रमा जान असहज बनेको सांसदहरू बताउँछन्। नेताहरू अबका दिनमा सुध्रिनुपर्नेमा लेखक एवम् कवि स्वप्निल स्मृति बताउँछन्। आन्दोलन रचनात्मक हुनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘आन्दोलनले उठाएका कुरा आमजनताले अनुमोदन गर्ने खालको हुनुपर्छ।’

पहिचानको मुद्दालाई टेकेर राजनीति गर्ने माओवादी नेताहरू अवसरवादी भएको बुद्धिजीवीहरूको तर्क छ। यसमा उनीहरू सच्चिनु आवश्यक रहेको समेत उनीहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.