|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन्।

मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन्। शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फिरी प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे।

उनले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए। बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो।

महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग खार खानु हुने भएकाले उनीहरुलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए।

महामन्त्री थापाले भने, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्कोपटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ। पटकपटक चुनाव जितेकोलाई अर्कोपटक चुनाव नजित्ला कि भन्ने डर छ। अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ।'

महामन्त्री थापाले बालबालिकाहरुलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरुलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.