|

धनगढी : धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्। शुक्रबार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादकसमेत रहेका धामीलाई धम्की दिने अवस्थी समातिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। अवस्थीले हिजो पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए।

धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको 'कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की' शीर्षकको समाचारको विषयलाई लिएर ‘समाचार किन लेखिस्? तेरा हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएका हुन्।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, कैलालीलगायत पत्रकारका विभिन्न संगठनहरूले ध्यानाकर्षण भएको जनाउँदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए।

उनीहरूले समाचारमा असहमति भए कानूनी उपाय खोज्ने उपाय हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भर्त्सना गर्दै कारबाहीको माग गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.