|

रौतहट : रौतहट क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।

एकीकृत समाजवादीमा राजनीतिक भविष्य अन्धकार देखेपछि आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएको ती नेताले बताएका छन्।

एकीकृत समाजवादीको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफ्नो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताएका छन्।

घरका छोराछोरी रिसाएर कहिलेकाहीँ बाहिर गएजस्तै बाटो बिराएर गएकोमा आत्मसमीक्षा गरेर नै आफूले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउँदा हर्षित भएको युवा नेता दाहालले बताए।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघीय तथा प्रदेशसभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिका देखेर नै उनीबाट पार्टी नचल्ने निष्कर्ष निकालेर पुरानो घर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ रहेको थियो।

दाहाल एकीकृत समाजवादीको चन्द्रपुर नगर कमिटी अध्यक्ष हुँदै प्रदेश कमिटीका सदस्यको जिम्मेवारीमा थिए। युवा नेता दाहालले नेकपा एमालेमा रहँदा तत्कालीन रौतहट क्षेत्र ६ को २ कार्यकाल क्षेत्रीय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन्।

एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा पुराना नेता अमर आलेले पनि माधव नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको भविष्य नदेखेको कारण पुरानै घर फर्किएको बताए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द्रपुर-४ को वडा अध्यक्षमा निर्वाचित समेत भएका आलेले आफूले मलजल गरेको नेकपा एमाले पार्टी नै भएको कारण पुरानो घर फर्किएको बताए।

यसैगरी एकीकृत समाजवादीका मधेश प्रदेशका सचिवालय सदस्य तथा गरुडाका प्रभावशाली नेता शेख कलिमुल्लाह पनि पुरानै घर फर्किएका छन्। एकीकृत समाजवादीमा राजनीति सुरक्षित नभएको र आफ्नो पार्टी भनेको नेकपा एमालेमात्रै जस्तो मन मस्तिष्कमा भएका कारण पनि पुरानो घर फर्किएको नेता कलिमुल्लाहले बताए।

एकीकृत समाजवादीको भ्रातृ संगठनका विभिन्न तह तप्कामा रहेका नेता कलिमुल्लाहले देशमा कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै भएको प्रष्ट भइसकेको कारण अन्य साथीहरुलाई पनि आफ्नो पुरानो घर फर्किन उनले आग्रह गरे।

सोही कार्यक्रममार्फत नेकपा एमाले पार्टीमा फर्किनेहरुमा एकीकृत समाजवादीका पुराना तथा प्रभावशाली नेता टिकाबहादुर कार्की, जिल्ला कमिटी सदस्यहरु विनोद चौधरी, राजन थापा, रामकुमार खडका, मधुसुदन धिताल, रामचन्द्र दाहाल, नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भु प्रसाद गुप्ता, वनपती देवी सहनी रहेका छन्।

एकीकृत समाजवादी गरुडा नगर कमिटी अध्यक्ष श्याम नन्दन सहनी, गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी, होस नारायण यादव, सुरेश चौधरी, लाल बहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेव मण्डल, शेख मजहर आलम, पारस सहनी, शेख रेयाज, राम सेवक रायलगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन्।

फर्किनेहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए। कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवाल, पार्टीका मधेश प्रदेश सदस्य रामजी साहलगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.