|

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश नामकरणबारे उठेको असन्तुष्टिलाई वार्ता र संवादबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

प्रदेशसभा संसदीय दलमा आज सञ्चारकर्मीसँग उनले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हुने उल्लेख गरे।

मधेशपछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको भन्दै उनले प्रदेशसभाको अंकगणितले तत्काल पहिचानसहितको नामकरण हुन नसके पनि यही नाम अपरिवर्तनीय र अन्तिम नभएको बताए।

‘संविधानपनि परिवर्तनीय छ भने प्रदेशको नाम अपरिवर्तनीय हुनै सक्दैन,’ उनले भने, ‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन्छ।’ 

लामो समय प्रदेशको नामकरण नहुँदा त्यही बहानामा प्रदेश र संघीयतामाथि प्रहार बढ्ने अवस्था रहेको भन्दै उनले त्यसलाई चिर्न कोशी नाम राखेर जान माओवादी पनि सहमति भएको दाबी गरे।

संविधान जलाएका शक्तिहरु पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरु उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरुलाई शान्तिपूर्ण रुपले उठाउन आन्दोलनकारीलाई आग्रह गरे।

सरकारले आन्दोलनकारीलाई तत्काल वार्तामा बोलाएर उनीहरुको कुरा सुन्नुपर्ने उल्लेख गर्दै उनले छलफल नै हुन सक्दैन भन्नु जडता भएको टिप्पणी गरे।

यसअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुममार कार्कीले नामबारे छलफलसमेत हुननसक्ने चर्को अभिव्यक्ति दिएका थिए। ओखलढुङ्गामा उनले दिएको सो अभिव्यक्तिलगत्तै उनीमाथि पहिचान पक्षधर बताउने समूहले आक्रमणको प्रयास गरेको थियो भने आङ्बोमाथि पनि ताप्लेजुङमा आक्रमणको प्रयास भएको थियो।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै आङ्बोले  उनलाई शहीद घोषणा गरी परिवारलाई राहत प्रदान गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका धरानका लिम्बूको गएराति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो।

अर्को प्रसंगमा नेता आङ्बोले कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताउँदै माओवादीले तत्काल अन्य विकल्पबारे नसोचेको जानकारी दिए। 

केन्द्रमा र अन्य प्रदेशमा गठबन्धन परिवर्तन भए पनि यो प्रदेशको अवस्था भिन्न रहेको र सहजै नयाँ सरकार बन्ने अवस्था नरहेकाले माओवादीले तत्काल सरकार छोड्नेबारे नसोचेको उनको भनाई छ। ​प्रदेशसभा ५ वर्ष नै टिक्ने दाबी गर्दै आङ्बोले मध्यावधि निर्वाचन हुने प्रचार शतप्रतिशत झूटो रहेको बताए।

प्रदेशमा मध्यावधिको सम्भावना र सरकार बनाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने अवस्था नआउने जिकिर गर्दै उनले प्रदेशसभामा रहेका दलहरुको समझदारीबाट अहिलेको सरकारले निरन्तरता पाउने वा नयाँ सरकार सहजै बन्ने अवस्था रहेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.