|

विराटनगर : विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई  ६–५ ले पछि पार्दै  जावलाखेले अन्तिम चारणमा स्थान सुरक्षित गरेको हो। जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ। 

निर्धारित ९० मिनेट र  ३० मिनेटको अतिरिक्त (थपिएको) समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि सडेन डेथबाट जितको छिनोफानो भएको हो। रोचक र प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरे। त्यसपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरे। 

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङदङबेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी पराजित भएका थिए। 

आर्मीले खेलको दशौँ मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो। जुनसमय टोलीका आशिष शाक्यको प्रहार  बाहिरिएको थियो। आर्मीका कप्तान जिलेस्पीजंग कार्कीले २३ औँ मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जाउलाखेलका गोलकिपर अनिष देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट बताएको थियो।

३६ औँ मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशान्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत हुन सकेन। जावलाखेलका विदेशी खेलाडी मसोवी पनि ३९ औँ मिनेटमा गोल गर्न चुकेका थिए। राहुलले ४४ औँ मिनेटमा निकालिदिएको  वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए। त्यसलगतै  उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरिरिएको थियो। ५२ औँ मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन। 

६० औँ मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ आङ्दम्बेको प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मी गोल गर्नबाट चुक्यो। ६५ औँ मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डिबक्स भित्रको कडा प्रहार आर्मीका  गोलरक्षक विकेश कुथुले बचाएका थिए। ७३ औँ मिनेटमा आर्मीका सुदीप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिँदा गोल गर्ने अवसर खेर गएको थियो । ८३ औँ मिनेटमा युद्ध शाहीले दिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल हुन सकेन। 

८६ औँ मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अघि बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए। शनिबारको तेस्रो क्वार्टरफाइनल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

जावलाखेलका सीमान्त थापा खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.