|

काठमाडौँ : सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार, संसद् र निजी क्षेत्र एकै ठाउँमा आउनुपर्ने बताए।

उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको स्पष्ट पारे। उनले यस्तो अवस्थामा एकतर्फी रूपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए।

उनले वर्तमान परिस्थिति चाँडै अन्त्य गर्न सरकार, संसद्, सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँमा ल्याउन आवश्यक रहेको बताए। उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीका अन्य समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘विभिन्न नीति निर्माण गर्ने र बनाएका नीति निर्माण गर्ने सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्ता नीति कार्यान्वयन गर्ने भूमिका संसद्को पनि हुन्छ। उद्योगी व्यवसायीहरूका वर्तमान समस्या समाधान गर्नका लागि आफूले पहल गर्नु कर्तव्य हो। त्यो प्रयास मबाट हुनेछ भन्ने प्रतिबद्धता जनाउन चाहन्छु। व्यवसायीहरूको आन्दोलनभन्दा पनि रचनात्मक रूपमा समाधानका लागू भूमिका खेल्न आवश्यक छ।’

उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्न सबैले आ-आफ्नो ठाउँबाट  लाग्न जरुरी रहेको बताए। महासंघले साधारणसभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ।

महासंघले समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेको छ।

बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले विदेशिने युवालाई देशभित्रै रोजगारी दिनका लागि स्वरोजगारमूलक तालिम व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुको भन्सारदर कम गर्नु पर्ने र व्यवसायीलाई लगाइएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.