|

विराटनगर : पाहुना टोली भुटानको ड्रुक युल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपिएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरस्थित सहिद मैदानमा शनिबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एपिएफ अन्तिम चारमा स्थान सुरक्षित भएको हो।

जितका लागि एपिएफका तर्फबाट सविन थापा र अरमान्ड बेडोमले गोल गरेका थिए। भुटानका तर्फबाट सान्त्वना गोल फोफोना इब्रहिमले फर्काए।

जितसँगै एपिएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र संकटा क्बलबीचको विजेता टिमसँग खेल्नेछ।

खेल शुरु भएको तेस्रो मिनेटमा एपिएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए। सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे। एपिएफको अग्रता खेल शुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहिम गोल गरी खेल १–१ बराबरीमा ल्याए।

कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो।

पहिलो हाफसम्म १/१ गोलको बराबरी भयो। दोस्रो हाफदेखि एपिएफले आक्रामक खेल पस्कियो। इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको ह्यान्ड भएपछि एपिएफले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा एपिएफका अरमान्ड बेडोमले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। ह्यान्ड गर्ने भुटानका कान्टे मुसालाई रेफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदानबाट बाहिरिए। निर्णायक खोल गर्ने एपिएफका अरमान्ड बेडोम म्यान अफ दि म्याच घोषित भए। 

खेल अवधिभर दुवै टिमले गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए।

७ औँ मिनेटमा युवराजको कडा प्रहार पोष्टमा लागेर फर्कियो। त्यसलगत्तै बुद्धिमान राईको प्रहार पोष्टमाथिबाट बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो। १० औं मिनेटमा एपिएफका अरमान्ड बेडोमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरियो।

​१३ औँ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोष्टमाथिबाट गएर बाहिरियो। १९ औँ मिनेटमा एपिएफका बुद्धिमान राईको कडा प्रहार भुटानका गोलकिपर हरि गुरुङले उत्कृष्ट बचाए।

२४ ‍औँ मिनेटमा एपिएफका बुद्धिमान राईले निकालेको क्रस पास अरमान्ड बेडोमले गरेको प्रहार पोष्टमा लागेर बाहिरियो। २८ औं मिनेटमा एपिएफका हरि कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमान्डले डिबक्सभित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुके।

४२ औं मिनेटमा एपिएफका शरणसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए। युवराज खड्काको क्रसमा शरणसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरुङले उत्कृष्ट बचाउ गरेका थिए। त्यसलगत्तै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङको प्रहार विफल भयो। ४७ औं मिनेटमा विपीन श्रेष्ठको क्रसमा बिकु तामाङले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटानका गोलरक्षकले विफल पारेका थिए।

खेलको ५६ औं मिनेटमा एपिएफका विपीन श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो। खेलको ५८ औं मिनेटमा एपिएफका बुद्धिमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले क्लियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो।

८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अरमान्डले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिशा नलिँदा गोलको अवसर चुकेको थियो।

दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जनभन्दा बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरिन बाध्य भयो। खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.