|

जुम्ला : जुम्लामा मात्र उत्पादन हुने लोकप्रिय मार्सी धान खेती चैत १२ बाट शुरु हुन्छ। यो धान नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गरेको छ। चैत २ गतेसम्म भारत गएका धान किसान घर फर्किने चलन छ।​

हिमा गाउँपालिकाका जुम्लाका धान किसानले धानको वीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई धान उत्पादनको शुरुवातीका रूपमा लिने गरेको छ।

त्यस्तै हिमा गाउँपालिका–१ बड्कीका स्थानीय वीरबहादुर शाहीले योपटक धान रोपाइँ नहुने बताए। उनले भने, ‘धेरै सिँचाइ कुला बाढीले बगाइसकेकाले केही ठाउँमा मात्रै धान रोपाइँ हुनेछ।’

त्यस्तै ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार जुम्लाभरी विपत्‌ले खेतीयोग्य जमिन र कुलो बगाएको छ।

उनले भने, ‘कार्यालयमा ३४ वटा सिँचाइ कुलो बगाएको  निवेदन आएका छन्।’ उनका अनुसार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाइएको छ। बाढीले प्रभावित भएका क्षेत्रमा योपटक धानखेती गर्न कठिन देखिएको छ।

तिला गाउँपालिका–१ स्थानीय बासिन्दा माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ। मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ।

हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ, २० गते ब्याडमा छरिन्छ। हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ। चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको  छ। 

त्यस्तै जुम्लामा दुई हजार ९५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार गत असोजमा आएको बाढीपहिरोले धान रोप्ने खेतका सिँचाइ कुलामा क्षति भएको छ।

उनले  भने, ‘जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ। उक्त धान पाक्न सात महिना लाग्छ। चैतमा वीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नु पर्छ। वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ।’

त्यसपछि बीउ हरियो हुन्छ। भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ। कृषि विकास कार्यालयका अनुसार एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ।

जौँ काट्दै सँगसँगै रोपाइँ गरिन्छ। जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन। नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ। असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ। भदौमा झारजङ्गल काट्नुपर्छ।

त्यसैगरी मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए। नेपालमा असार १५ गते धान दिवस मनाउने गरिए पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.