|

म्याग्दी : ‘म त लालीगुराँस भएँछु। वनैभरि फुलिदिन्छु–मनैभरि फुलिदिन्छु।’ स्वरसम्राट स्व. नारायण गोपालले गाएको गीतले भनेजस्तै म्याग्दीका वनजंगल यति वेला लालीगुराँस फुलेर राताम्यै भएका छन्। 

वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको छ। 

म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीय स्थल टोड्केमा आएकी रक्षा पौडेल हिमाल र लालीगुँरासलाई पृष्ठभूमि बनाएर तस्विर लिन व्यस्त थिइन्। उनीसँगै आएका साथी पनि लालीगुँरासमा रमाउँदै फोटो खिचिरहेका थिए। 

म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन्। ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैँस चढेको छ। वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फुलेपछि लेकाली क्षेत्र अहिले नवदुलही जस्तै सिँगारिएका छन्। 

फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ। नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि छुट्टै खालको रौनक छाएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ। यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्ली, टोड्के लगायत क्षेत्रमा पनि गुराँस फुलेको छ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन्। उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित    समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीय बताउँछन्। नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँस फुल्छन्। 

लामो पात, झ्याम्म रुख राता फूलले जंगललाई सिंगारेको छ। अहिले गुराँसको मनमोहक दृश्य हेर्न विभिन्न जिल्लाका पर्यटक पनि म्याग्दी आएका छन्।  सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ। सुनसान बनेका यहाँका पर्यटकीय स्थलमा चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन्।

कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवती पनि अहिले जंगली क्षेत्रमा पुगेका छन्। सधैँ मोबाइल र इन्टरनेटमा रमाउने युवायुवतीले प्रकृतिलाई नजिकैबाट नियाल्न र बुझ्ने अवसर पनि पाएका स्थानीय टेकबहादुर घिमिरेले बताए।

लालीगुराँससँगै रमाउने र तस्विर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्याथी पनि छन्। विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका वेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्विर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.