|

विराटनगर :  घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ। 

विराटनगरस्थित शहीद मैदानमा सोमबार राति सम्पन्न पहिलो  सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो। 

जितका लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरे। जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए। 

निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगर दोस्रो हाफदेखि आक्रामक देखियो। जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए। दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो। 

५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङ्गनलले गोल गरी टिमलाई अग्रता दिए। विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो। ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले निकालेको क्रस पासलाई वैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे।

६१ औँ मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए। लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो।  

९ औँ मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए। १७ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी  एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए। त्यसलगैत एनकोटोले निकालको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए। 

२७ औँ मिनेटमा विमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके। ५३ औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए। ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो। 

८९ औँ मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर फाले। त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले बिफल पारिदिए। खेलको अन्त्यतिर जावलाखेल समाल्नि नसक्दा थप गोल खाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले  सान्त्वना गोल फर्काए।

म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए। 

जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए। पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताए। उता जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताए। 

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम  एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.