|

म्याग्दी : जिल्ला सदरमुकाम बेनीबजारका व्यापारीले उपभोक्तालाई सामानको मूल्य, गुणस्तर मात्र नभई नापतौलमा समेत ठगी गर्ने गरेको पाइएको छ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार अनुगमन गर्दा उपभोक्ता ठगिएको पाइएको हो। 

बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलमा गरिएको अनुगमनमा पनि  दैनिक उपभोग्य खाद्यान्नमा गुणस्तर नभएको, बजार मूल्यमा एकरूपता नदेखिएको, नापतौलका सामान पनि चुस्त दुरुस्त नरहेका पाइएको कार्यालयले जनाएको छ।

कार्यालयले बेनीको हुलाकचोकदेखि क्याम्पसचोकसम्म सञ्चालनमा रहेका कुल १५ वटा खाद्यान्न तथा किराना पसलमा अनुगमन गरेको थियो। यस क्रममा बेनी बजार क्षेत्रका मासु व्यवसायी, तरकारी तथा फलफूलव्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत भेटियो। 

जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी भरत पौडेलले नापतौलमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गर्ने बताए । उपभोक्ता ठगिएका प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाइ गर्ने उनले बताए।

अनुगमन गरिएका पसलध्ये केही पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसूची नटाँसेको र अद्याविधक नगरेको, म्याद सकिएका दैनिक उपभोग्य खाद्य सामग्री बिक्रीमा राखेको, कानुनी प्रक्रिया पूरा नगरेको जस्ता कमजोरी भेटिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताए। 

कानूनी दायराभन्दा बाहिर रही व्यापार गर्ने व्यापारीबाट ठग्ने क्रम जारी रहे पनिरोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता हिमाल घिमिरेले बताए। मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएको अधिकारकर्मी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.