|
प्रतीकात्मक तस्विर

काभ्रेपलाञ्चोक : पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ। 

नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आईपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्यांक सार्वजनिक गरेका छन्।

पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो। खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५  प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट (इमिसन रेट) ८५ प्रतिशत नमुनामा विषादीको कुनै अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेँडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो। परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो। 

कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ। सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो। 

परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ। बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ। तुने बोडीमा २७.५ प्रतिशत देखिएको हो। 

पाँच वर्षका अवधिमा कृषकले औषत प्रतिरोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकामा अहिले छ दशमलव पाँच एमएलमात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रतिरोपनी वार्षिक १.०८ केजी प्रयोग गर्ने गरेकामा शून्य दशमलव २२३ केजी प्रयोग गर्न थालेका छन्। जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग घटेको हो। कीरा नियन्त्रण गर्नका लागि कृषकले मोहनी तथा पहेँलो पासोको प्रयोगलाई बढवा दिएका छन्। सर्वेक्षित क्षेत्रका ८४.१ प्रतिशत घरपरिवारले यसको प्रयोग गर्ने गरेका छन्, जुन परियोजना सञ्चालन गर्नुभन्दा पहिले ४ प्रतिशतले मात्र गर्ने गरेका थिए। 

विषादीको विकल्पमा परियोजनाले कृषकले पशुमूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा एक रोपनी जग्गामा औसत १.५ लिटर प्रयोग हुने गरेकामा अहिले ३३.१लिटर पशुमूत्र प्रयोग गर्ने गरेका छन्। परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन्। 

जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७०.४ प्रतिशतले प्रयोग गर्ने गरेका छन्। औसत एक घरधुरीले वार्षिक ३१५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्यांकले देखाएका हुन्। 

त्यस्तै कृषकले पशु चौपाया(गाई–भैँसी)लाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापन गरेका छन्। पहिले २९ घरधुरीले भकारो सुधार गरेकामा हाल १९१ घरधुरीले भकारो सुधार गरी पशुहरूलाई रोग लाग्नबाट जोगाई मृत्युदरमा कम गरेका छन्। वार्षिक औसत ३.९बाट झरेर १.३ पशु चौपायाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। पशुपालनमा वृद्धि भई पहिला प्रतिघरधुरी एक दशलमव सात पशु चौपायाबाट बढेर २ र बाख्रामा ४.३ प्रतिघरधुरीबाट बढेर ११.७ वटा पाल्ने गरेका छन्। 

पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादित तरकारी खानयोग्य भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.