एमालेमा विचार सकिएको दाबी

|

धनगढी : तत्कालीन नेकपा विभाजनपछि नेकपा एमालेमात्र फुटेन, तत्कालीन सशस्त्र जनयुद्धको जगमा बनेको नेकपा माओवादी केन्द्र पनि फुट्यो। नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर बनेको थियो।

यो क्रममा एमालेबाट माधवकुमार नेपाल लगायतका नेताहरू अलग भए। उनीहरूले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरे।

नेकपा माओवादी केन्द्रका पनि रामबहादुर थापा बादलसहितका नेताहरू एमालेमा लागे। जनयुद्ध लडेर आएका बादलसहित ६ जना शीर्ष नेता एमालेमै बसे। ती ६ मध्येका एक नेता हुन् मणि थापा। तिनै मणि थापा अहिले एमालेको नेतृत्वमा छन्।

उनी प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेपछि केही समय मन्त्री पनि भए। अहिले पनि वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको विश्वास छ।

प्रस्तुत छ, उनै मणि थापासँग थाहाकर्मी टेकसिंह धामीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेकपा माओवादीको नेता पछि गएर एमालेमा लाग्नुभयो। तर, पछिल्लो समय किन ओझेलमा पर्नुभयो ?

हामी ओझेलमा परेका छैनौं। स्वभाविक रूपमा भूमिकाले सक्रियता के कति हुने भन्ने कुरा होला तर सत्य कुरा के हो भने एमाले पार्टीमा लोकतन्त्र छैन। एमालेमात्र होइन, कुनै पनि पार्टीमा लोकतन्त्र छैन। त्यसकारण ओझेलमा परेको देख्नुभयो होला, हामी अहिले त्यो लोकतन्त्र उत्पन्न गर्न लागिरहेका छौँ। जनताको माध्यमबाट नेताहरूलाई तपाईंहरू सुध्रनुहोस् भन्ने हाम्रो उद्देश्य हो।

जनवादी कलाकारहरू भनेर सङ्गीत यात्रा गरिरहनुभएको छ। यसको उद्देश्य र औचित्य के हो?

नेपालको हरेक परिवर्तनमा जनवादी कलाकारको ठूलो भूमिका छ। जनवादी कलाकारहरूलाई राष्ट्रपति बनाउँदा पनि फरक पर्दैन। त्यो लेबलका केही हुनुहुन्छ। अहिले सरकारमा गइसकेपछि रेडियो नेपाल सरकारी टेलिभिजनमा हाम्रो कुनै अर्थ छैन। त्यहाँ हाम्रा गीत बज्दैनन्।

हामीले जुन परिवर्तन गर्‍यौँ, त्यो परिवर्तनबाट हामी कलाकारहरू सन्तुष्ट छैनौँ। म एमालेको स्थायी समितिमा छु। म पनि सन्तुष्ट छैन। माओवादीका कलाकार सन्तुष्ट छैनन्। हामी सन्तुष्ट छैनौँ। यसको मतलब हामीले पार्टी छोड्न लागेको भनेको होइन तर जनताको माध्यमबाट सुधारका लागि हामी प्रयासरत छौं।

तपाईं आफै पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ। नेताहरूलाई सोझै भन्न पनि त सक्नुहुन्छ। त्यस्तो किन नगरेको ?

कुरा त्यही हो। हामीले पहिले पनि नेकपा एक ठाउँमा हुनुपर्छ भन्ने गरेका थियौँ। घनश्याम भुसालजी र मैले यस विषयमा कुरा राखिरहेका थियौँ तर हामीले नेकपा एक ठाउँमा ल्याउन सकेनौँ।

पछि फेरि मिलेर जाऊँ भनियो। त्यहाँ पनि हामी मिल्न सकेनौँ। एमालेको महाधिवेशन भयो। त्यहाँ सत्य भन्नुहुन्छ भने विचारको बहस शून्य जस्तै भयो। शक्ति सन्तुलन र समीकरणकै कुरा, जसरी पनि सत्तामा जाने भन्ने मात्रै भयो। कम्युनिस्ट पार्टी त्यस्तो हो र ?

त्यस कारणले हामीले त्यो बदल्न सृजनात्मक काम गरेका हौँ। यो भण्डाफोर होइन । हामी स्वतन्त्र हुन चाहन्नौँ। हामी पार्टीप्रति प्रतिबद्ध नै हौँ तर त्यसलाई हामी रचनात्मक रूपले अघि बढाउन खोजिरहेका छौँ। बाहिर तपाईं सुन्नुहोस् न कोही खुसी छैनन्।

सबैले आफ्नो पार्टीभित्रै कुरा राखेर नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन किन नसक्नु भएको त?
कलाकारबाट नेता हुनेहरूलाई यी भावनावादी हुन्छन् भन्छन्। एमालेको कुरा गर्दा प्रदीप नेपाल कहाँ हुनुहुन्छ? सिर्जनासहित पार्टीमा लागेकाहरू अरू धेरै कहाँ छन्? यो समस्या अन्य पार्टीमा पनि छ। हामी ७७ वटै जिल्लामा जान चाहन्छौँ। यति हुँदा पार्टीले हामीलाई के गर्ला भन्ने हामीले सोचेका छैनौँ।

अहिले त मणि थापा हराउनुभयो पनि भन्छन्। उनीहरूलाई के भन्नुहुन्छ ?

म माओवादीबाट आएको हुँ। मैले बहुदलीय जनवाद सिद्धान्त हुँदैन भनेर महाधिवेशनमा पनि भनेको थिएँ। म त प्रचण्ड र मोहन विक्रम पनि भोगेको मान्छे हो नि। यता एमालेमा आइसकेपछि यहाँ दुःखका साथ भन्नुपर्छ विचार करिब अन्त्य भइसकेको छ। माओवादीको कुरा गर्नुहुन्छ भने तल विचार छ माथि छैन।

एमालेमा कार्यकर्ता राम्रा छन् नेतृत्व छैन। एउटा पार्टीमा मात्र होइन हरेक पार्टीमा विचारको अन्त्य भइरहेको छ। यो विचारको अन्त्यले दोस्रो पुस्तालाई ध्वस्त पार्‍यो। अब त हामीले रवि लामिछानेसँग सङ्घर्ष गर्नु पर्‍यो नि। अब ज्ञानेन्द्र शाहीसँग सङ्घर्ष गर्नु पर्‍यो नि।

केपी ओलीको क्रेज सकिएको भन्न खोज्नु भएको हो ? यदि हो भने, क–कसको सकियो ?
सबैको सकियो। पहिलो पुस्ता सबैको सकियो। केपी ओली, माधव नेपाल, प्रचण्ड सबैको सकियो। त्योभन्दा दोस्रो तहकाको पनि सकियो। हामी दोस्रो र तेस्रोमा पर्छौ। एक डेढ वर्षमा हामीले नयाँ अभियान गर्न नसके हाम्रो पनि सकिन्छ।

क्रेज शङ्कर पोख्रेलको पनि सकियो। हारे नि त ! घनश्याम भुसालको सकियो। योगेश भट्टराईको जुन क्रेज थियो मन्त्री हुनुभन्दा पहिले मन्त्री भएर सकियो। माओवादीबाट एमाले गएपछि यता हामीलाई ड्यामेज गरिरहेका छन्।

कतै माओवादी छोडेकोमा पछुतो त छैन ?

होइन, होइन, त्यो छैन। माओवादी छाडेको पछुतो मलाई छैन तर हामी नयाँ एमाले बनाउन गएका हुँ। मैले स्थायी समितिमा भनेको छु, पुरानो एमालेको भूत जाग्यो।
मलाई माओवादी छाडेकोमा पछुतो छैन। नेकपाको दस्ताबेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको छ भन्ने छ। यहाँ प्रचण्ड र ओली कमरेडको जुँगाको लडाइले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त भएको छ।

हामी एमालेमा आएपछि माधव नेपालसँग सम्झौता गर्न नसक्ने, १० भाइसँग गर्न नसक्ने हामी त ५ भाइ गएका थियौँ। यसलाई एक बनाएर लिएर गएको भए अहिले एमालेको बहुमत आउने थियो तर १० भाइ पनि ठोक्दिने! यता माओवादीबाट आएका पनि ठोक्दिने !

माओवादीबाट आएकामध्ये तपाईं मात्रै यस्तो गुनासो गर्नुहुन्छ। अरू सबै केही बोल्नुहुन्न त?

होइन सबैको गुनासो छ। अहिलेसम्म बाहिर ल्याउने गुनासो होइन। मिलेर जाऔँ है भन्ने हो। त्यो एमालेलाई सुनौलो अवसर थियो। अहिले माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने वेला भएपछि त हिजै प्रस्ताव गर्नुपर्दैन ? ठूलो पार्टी त एमाले हो नि। माधव नेपाल र प्रचण्डको पनि नेता त एकपटक ओली कमरेड हुनुभएकै हो नि।

साथीहरू आउनुहोस् भनेर प्रचण्डलाई तिमी प्रधानमन्त्री बन आधा खाऊ, माधव नेपाललाई राष्ट्रपति दिऊँ र अर्को चरणमा म खान्छु। यहाँ नरम भइदिएको भए सबै मिलिहाल्ने थियो। हामीले भनेको त्यो हो।

एमालेमा त तत्काल नयाँ नेतृत्व तथा विद्रोह भन्ने त सम्भव छैन नि ?

किन नहुनु, सङ्घर्षले सम्भव बनाउँछ।

के सबै कम्युनिस्ट एक ठाउँमा आउने सम्भावना अझै छ र ?

छ, तर यो नेतृत्वबाट छैन। त्यसका लागि नयाँ पुस्ताले पहल गर्नुपर्छ। त्यसका लागि हरेक पार्टीबाट विद्रोह गर्न सक्ने हुनुपर्छ।
त्यो सम्भव छ? एमालेमा ओलीसँग विद्रोह गर्न सक्ने माओवादीमा प्रचण्डसँग विद्रोह गर्न सक्ने नेताहरू देख्नुभएको छ?

माओवादीमा प्रचण्डविरुद्ध विद्रोह गर्न सक्ने सम्भावना छ। ओलीको पनि हिजो माधव नेपालले गर्नुभयो नि। घनश्याम भुसालले गर्नुभयो। सानो झिल्को होस् त्यो विद्रोह हो।

अब त त्यो सम्भव छैन नि ?

हो, अहिले त्यो सम्भव छैन। अब पाँच वर्षपछि हेर्नुहोस्। आगामी पाँच वर्षसम्म पनि नेपालका कम्युनिस्टहरू यसैगरी गए भने यो पश्चिम बङ्गाल हुन्छ। अहिले कम्युनिस्टहरू घेरामा परेका छन्। कोही कांग्रेससँग जानुपर्ने, हामीले राप्रपा पनि बोकेकै हौँ।

यस्तो घेराबन्दी बाह्य शक्तिबाट भइरहेको छ कि आन्तरिक शक्तिबाट ?

शक्ति त आन्तरिक नै हो तर बाह्य शक्ति पनि छ। प्रचण्ड र ओलीलाई मिल्न नदिने बाह्य शक्ति बलियो छ। उहाँहरू त्यसको साधन हुनुभएको छ। अहिले समाजवादी केन्द्रको बहस पनि भइरहेको छ।

के माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी एकै ठाउँमा आउलान् त?

एक ठाउँमा आउनुपर्छ तर अहिलेको चिन्तनले एक ठाउँमा आउँदा पनि घाटा लाग्छ। मैले माओवादीमा हुँदा पनि एमालेसँग एकता नगरौँ भनेर ३३ जना हेड क्वाटरका सदस्यहरूसँग मैले राखेको थिएँ। विदेशीहरूले पनि हामीलाई यति ठूलो पार्टी टिक्न दिँदैनन् भनेको तीन महिनाबाट झगडा भयो। हामीले छेउबाट भनिएको कुरा सुनिएन।

अब एमालेभित्रै रहेर तपाईं गलत प्रवृत्तिको विरोध गर्नुहुन्छ? कि अर्को विकल्प छ ?

एमालेभित्रै रहेर संघर्ष गर्नेबाहेक अर्को विकल्प छैन। म अहिले एमाले छोड्ने कुरामा छैन। हामी प्रचण्डसँग फर्किँदैनौँ। समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.