|

काठमाडौं : अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै सञ्चालन हुन बाँकी रहेको शिक्षक सेवा आयोगका परीक्षाहरू नरोकिने भएका छन्। बजेट अभावले परीक्षाहरू रोकिने सम्भावना बढेपछि आयोगले बजेट व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो। 

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले काम बढेको तर त्यसअनुसार बजेट अभाव हुँदा समस्या भएको बताउँदै आएका थिए। ‘शिक्षक भर्ना, बढुवा प्रकृया, परीक्षा सबैलाई काम गत वर्षहरूमा भन्दा बढी भयो तर त्यहीअनुसार बजेट विनियोजन भएन। त्यसैले हामीले काम सम्पादन गर्दै जाँदा अहिले बजेट अपुग भएको स्थिति छ,’ उनले भनेका थिए। 

आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालका अनुसार अहिलेको अवस्थामा आइपुग्दा गत वर्ष छुट्याएको बजेटमा खुला परीक्षा सञ्चालन गर्न ४ करोड र शिक्षक बढुवा गर्नका लागि ५६ लाख बजेट अपुग हुने देखिएको थियो।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो। आयोगले अर्थ मन्त्रालयका सचिवसँग परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता, तालिका सबै बुझाएको थियो। 

उक्त आवश्यक रकम अर्थ मन्त्रालयले छुट्याएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। उनले थाहाखबरसँग भने, ‘बजेट माग गरिएको थियो, अर्थ मन्त्रालयबाट निकासा भइसक्यो भन्ने जानकारी आएको छ।’

उनले अब परीक्षा सञ्चालनमा कुनै समस्या नहुने दाबी गरे। ‘परीक्षा सञ्चालनमा अहिले केही समस्या छैन, अब बाँकी परीक्षा सञ्चालनमा पनि केही समस्या आउँदैन। नियमित तालिका अनुसार नै परीक्षा सञ्चालन हुन्छ।’ उनले कोही पनि परीक्षार्थी परीक्षा सर्ने कि भन्नेमा अन्योलमा नरहन आग्रह गरे।

यही चैत १८ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा हुँदै छ। परीक्षा केन्द्रसमेत तोकि सकिएको छ। परीक्षा दिउँसो १ बजेबाट सञ्चालन हुनेछ।

त्यस्तै, निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा आगामी वैशाख १ गते दिउँसो १ बजेबाट सञ्चालन हुँदै छ। आयोगले यसका लागि प्रवेश पत्र प्रिन्ट गर्ने‚ उम्मेदवारलाई सूचितसमेत गरेको छ। उक्त परीक्षाका लागि करिब ७८ हजार जनाले आवेदन दिएको आयोगले जनाएको छ।

पदपूर्ति नभएकाको पुनः विज्ञापन गर्ने

पछिल्लो समय शिक्षकहरूले परीक्षा पास गर्न नसक्दा शिक्षकको अभाव छ। विषयगत शिक्षक पाउन पनि मुस्किल छ। विज्ञापन खोले पनि मागअनुसार शिक्षकहरू सिफारिस हुन सकेका छैनन्। यी सिफारिस हुन नसकेको पद संख्याको लागि पुनः विज्ञापन गर्ने आयोगका सूचना अधिकारी मरहठ्ठाले बताए।

उनका अनुसार यस वर्ष प्राविको १३ हजार २ सय ९७ जना शिक्षक माग गरेकोमा १० हजार ३ सय ५३ जना मात्रै सिफारिस भए। यसअनुसार २ हजार ९ सय ४४ जना शिक्षक अझै अपुग छ। ‘जति मागअनुसार सिफारिस हुन सकेको छैन, त्यसमा थपेर विज्ञापन गछौँ,’ उनले भने। 

शिक्षकहरूले नै परीक्षा पास गर्न नसकेको सन्दर्भमा यहाँकै शिक्षण सिकाइ प्रणालीमा प्रश्न उठेको आयोगका सूचना अधिकारी मरहठ्ठा बताउँछन्। आयोगले सिलेबसले जे माग गरेको छ, त्यसैभित्र रहेर प्रश्नपत्र निर्माण गरेकाले कुनै त्रुटी नगरेको उनको दाबी छ।

‘यसमा एक त विश्वविद्यालयहरूले कस्तो जनशक्ति उत्पादन गरे? भन्ने पाटो छ, अर्कोतर्फ परीक्षार्थीहरूले विषयगतको तथ्यगत रूपले पढ्न सकेनन्, तयारी कम भएको देखिन्छ, त्यसैले मागअनुसार परीक्षा उत्तीर्ण गर्न सकेनन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.