|

दाङ : दाङ, अर्घाखाँची र कपिलवस्तुको केन्द्रविन्दुमा रहेको धानखोलास्थित पर्यटकीय सम्भावना बोकेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बजारदेखि करिब १५ किलोमिटरको दूरीमा पर्ने गुप्तेश्वर महादेव गुफा पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल हो।

लुम्बिनी प्रदेशको ३ जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँचीको केन्द्र विन्दु अर्थात सिमानामा पर्ने उक्त गुफाभित्र विभिन्न देवीदेवताहरूका आकृति देख्न सकिन्छ। पूर्वपश्चिम राजमार्गको धानखोला बजारनजिकै पर्ने उक्त गुफासम्म पैदल हिँडेर ५ मिनेटमा पुग्न सकिन्छ।

अधिकांश स्थानीयलाई समेत यो गुफा कहाँ छ भन्ने थाहा छैन। गुफा संरक्षण तथा प्रचारप्रसारमा राज्यको ध्यान नजाँदा पर्यटकीय सम्भावना रहेर पनि पछि परेको उक्त गुफा संरक्षण समितिका अध्यक्ष रमेश बजगाईँले बताए।

उनले भने, ‘यहाँ गुप्तेश्वर महादेवको गुफा रहेको छ। प्रचारप्रसार नहुँदा अहिलेसम्म ओझेलमा परेको छ। गुफा एकदमै राम्रो छ।’ उनले स्थानीय सरकार वा प्रदेश सरकारले यसको प्रचारप्रसार गर्न सके यो पर्यटकीय स्थल बन्न सक्ने उनको भनाइ छ।

पूर्वपश्चिम राजमार्गनजिकै रहेको हुँदा पनि यो पर्यटकीय स्थल बन्ने पनि उनको दाबी छ। गुफाको भित्ताभरि नै विभिन्न देवीदेवताका आकृतिसँगै चमेरा पनि बसेका छन्। गुफामा प्रवेश गर्नासाथ प्राकृतिक विविधताले भरिपूर्ण मनोरम दृश्यका देख्न सकिन्छ।

यो गुफा पूर्वपश्चिम राजमार्ग बनाउने क्रममा विसं २०३० सालतिर पत्ता लागेको थियो। धेरै वर्ष पहिले उक्त गुफा रहेको ठाउँलाई शिवराज धाम तीर्थस्थलको रुपमा परिचित रहेको स्थानीयको भनाइ छ।

गुफाको माथि शिवपार्वती बस्ने गरेकोले अहिले पनि उक्त गुफाभित्र शिवपार्वतीको प्राकृतिक शिला मूर्तिसमेत रहेको स्थानीय ज्ञानबहादुर दर्लामीले बताए। उनका अनुसार यस गुफाको संरक्षण नहुँदा कैयौँ आकृति मासिँदै गएका छन्।

हाल उक्त गुफा रहेको धानखोलामा प्रत्येक वर्ष महाशिवरात्रिमा ठूलो धार्मिक मेलासमेत लाग्दै आएको छ।

उनले भने, ‘यो हाम्रो बाउबाजेको पालादेखि नै  यस क्षेत्रलाई शिवराज धाम भन्ने गरिन्थ्यो। यो ३ वटा जिल्लाको संगम रहेको ठाउँ पनि हो। यहाँ विभिन्न ठाउँमा पूजाआजा गर्न मानिसहरू आउने गर्थे। तर यसको प्रचारप्रसार नहुँदा र भौतिक संरचना नबन्दा ओझेलमा परेको छ।’

उनले विभिन्न दाताको सहयोगमा गुफा संरक्षणका लागि केही गरे तापनि राज्यले नहेर्दा भने जस्तो नभएको बताए। गुफासम्म पुग्न राम्रो बाटो र गुफाभित्र बत्ती नभएकाले गुफा हेर्न समस्या हुने गरेको छ। गुफासम्म पुग्न एउटा खोला तर्नुपर्ने अवस्था छ।

हाल उक्त गुफासम्म पुग्न सिँढी र खोलामा झोलुङ्गे पुल निर्माण भइरहेको छ। यसको प्रचारप्रसार र संरक्षण गर्न सके यहाँका व्यवसायीलाई पनि राहत मिल्ने धानखोलामा होटल व्यवसाय गर्दै आएका रमेश वलीले बताए।

उनका अनुसार शिवरात्रिमा धानखोलामा ठूलो मेला लाग्ने भएकाले यहाँ आएका भक्तजनहरू गुफा हेर्न आउने गर्छन्।

केही वर्षदेखि आफू यस गुफाको संरक्षण विकासका लागि विभिन्न निकायमा पहल गर्दै आएको पनि उनले बताए। पर्यटकीय सम्भावनाका रुपमा रहेको नागेश्वर गुफाको प्रचारप्रसारसँगै विकास निर्माणका लागि गाउँपालिकाको बैठकमा पटकपटक कुरा उठेको भए पनि कुनै निर्णय भएको छैन।

गढवा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम अधिकारीले भने आफू निर्वाचित भएदेखि नै उक्त गुफाको संरक्षण तथा प्रचारप्रसारमा सक्रिय रुपमा लागेको बताए।

आफ्नै पहलबाट गाउँपालिका र वडाबाट समेत केही बजेट विनियोजन गरी आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ। उनले उक्त गुफाका लागि आवश्यक संरचना निर्माणका लागि चाहिने बजेट गाउँपालिका र वडाबाट मात्र नपुग्ने भएकोले संघ र प्रदेश सरकारसँग पहल गरिरहेको पनि बताए।

गुफासम्म पुग्न खोलामा झोलुङ्गे पुल निर्माण भइरहेको पनि उनले बताए। उनका अनुसार शीतगंगा नगरपालिका-११ अर्घाखाँची र आफ्नो वडाले गुफाको मर्मतसम्भार गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.