|

काठमाडौँ : सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी खाली हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ।

मंगलवार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्यायसम्पादनमा कठिनाइ भएको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भए पनि गत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेको जानकारी दिए।

यसले गर्दा समयमै न्याय निरूपण गर्न नसकिएको उनले बताए। उनले पेशी तोक्दा २१ जना न्यायाधीशलाई लक्षित गरी समूह बनाउने गरिएको भन्दै न्यायाधीश संख्या पर्याप्त नहुँदा सेवाग्राहीलाई समस्या भएको बताए।

प्रवक्ता पौडेलले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति नहुँदा समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्य सम्पादनमा अवरोध पुगेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले भने‚ ‘संख्यात्मक हिसाबले कमी भएको त गत वर्षदेखि नै हो। सर्वोच्च अदालत विगत ६ महिनादेखि हामी १६ जना न्यायाधीशकै दरबन्दीमा रहेका छौँ। १६ जना न्यायाधीशको दरबन्दी हुनु भनेको आठवटा इजलास मात्रै बन्न सक्ने स्थितिमा रह्यो। हाम्रो पेशीको व्यवस्थापन गरिरहँदाखेरी मुद्दाको समूहचाहिँ २१ जना न्यायाधीशलाई लक्षित गरेर समूह बन्ने भएको हुनाले मुद्दाका सेवाग्राहीलाई धेरै ठूलो चाप पर्‍यो। समयमा न्याय निरूपण नहुँदा, मुद्दाका समूह स्थगित हुँदा सेवाग्राहीलाई अत्यन्त ठूलो कठिनाइ महसुस भएको छ।’

शीघ्र प्रधानन्यायाधीश र न्यायाधीशको दरबन्दी पूर्ति र न्यायाधीशहरूको नियुक्ति सुनिश्चितता गर्नुपर्ने उनले बताए। संविधान तथा कानूनले सर्वोच्च अदालतमा पद रिक्त हुनुभन्दा १ महिनाअघि यो कुराको शुरुवात र सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएको उनको कथन छ।

सर्वोच्च अदालत प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार ५ सयभन्दा बढी मुद्दाको लगत रहेको जानकारी दिए। उनले चालू आर्थिक वर्षमा मात्रै ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएको बताए। तीमध्ये ७ हजार ७ सयभन्दा बढी मुद्दा फर्स्योट भइसकेको र २८ हजार ८५२ थान मुद्दा फर्स्योट हुन बाँकी रहेको बताए। चालू आवमा प्रतिइजलास करिब ९ सय मुद्दा फर्स्योट भइसकेको जानकारी गराए।

उनले चालू आवमा २०६३ साल र २०६४ सालमा दर्ता भई विचाराधीन २ थान मुद्दा फर्स्योट भएको बताए। अब सर्वोच्चमा सबैभन्दा पुराना मुद्दा २०६५ सालमा दर्ता भएका २ थान मुद्दा रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.