पूर्ण स्वचालित प्रणालीमार्फत पेशी नतोके आन्दोलन गर्ने चेतावनी

|

काठमाडौँ : नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणालीमार्फत पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बारका पदाधिकारीले १५ दिनभित्र प्रक्रिया शुरु गर्न समयसीमा दिएको बारकी महासचिव अन्जिता खनालले जानकारी दिइन्।

न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपाय सहितको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै बारले असन्तुष्टि समेत जनाएको छ।

१०९ दिनको आन्दोलनपछि सर्वोच्च अदालतले गोला प्रथाबाट पेशी व्यवस्थापन कार्यान्वयन गरे पनि यो स्थायी नभएकाले पूर्ण स्वचालित प्रणालीमार्फत गर्न आग्रह गरिएको महासचिव खनालले थाहा खबरलाई जानकारी दिए।

प्रतिवेदन कायममुकायम प्रधानन्यायाधीश कार्कीकै संयोजकत्वमा तयार भएको थियो। प्रतिवेदन कार्यान्वयनको आन्दोलनका कारण प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले निलम्बनकै अवस्थामा अवकाश पाएका थिए।

अहिले त्यही विषयलाई बारले उठाएको छ। प्रतिवेदन कार्यान्वयन नगरे सर्वोच्च अदालतविरुद्ध बारले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। आज बारका पदाधिकारीहरूसँगको भेटमा कायममुकायम प्रधानन्यायाधीश कार्कीले प्रतिवेदन कार्यान्वयन गर्न बजेट अभाव भएको बताएका छन्।

प्रतिवेदन कार्यान्वयन बजेट अभावले रोकिएको भन्दै कार्कीले आफू सकारात्मक रहेको बताएको महासचिव खनालले स्पष्ट पारिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.