|

रौतहट : पछिल्लो समय रौतहटमा ऐलानी जग्गा खोज्दै सुकुमवासी हुँ भन्दै बस्ती बस्ने क्रम बढ्दो छ। केही वर्षअघि सुकुमवासीको नाममा जंगल फडानी गरेर तामाङ टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घरटहरा बनाउने क्रम बढेको छ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको वृन्दावन नपा–१ बलेरीस्थित वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन मासेर घरटहरा बनाउने क्रम बढेको स्थानीयले जानकारी गराएका छन्।

केही समयअघि डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको ठाउँमा धमाधम घर बनाउँदा समेत सम्बद्ध निकायले कुनै वास्ता नगरेको स्थानीय बासिन्दा नागेन्द्र राउत कुर्मीको गुनासो छ।

राउतले भने, ‘वन फँडानी गरेर बलेरीका ठूलाबडाले नै पक्की घर बनाएका छन्, त्यसका लागि नियमकारी छैन? वनकै कर्मचारीका कारण वन विनाश भइरहेको छ। डिभिजन वन कार्यालयको मौनताका कारण बलेरीमा वन फँडानी गरेर यो वर्ष मात्र एक दर्जनभन्दा बढी नयाँ घर बनाइएका छन्।

बलेरीमा मात्र नभई अरू ठाउँमा समेत वनको जग्गामा घरटहरा बनाउने क्रम रोकिएको छैन। सुकुमवासीका नाममा विभिन्न ठाउँमा जग्गा भएकाले समेत जंगलमा घरटहरा बनाउने क्रम बढ्दै गएको हो।

वन अतिक्रमित भएको जग्गा खाली गराउन डिभिजन वन कार्यालयले कैयौंपटक प्रयास गर्दा पनि राजनीतिक दलको संरक्षणका कारण वन कार्यालयको प्रयास असफल हुने गरेको छ। वन अतिक्रमण गरेर वसोवास गर्दै आएकाले पहिला बस्ने ठाउँबाट बसाइँसराइँ समेत गर्न थालेका छन्।

पहाडी जिल्लाबाट आएर वन अतिक्रमण गरेर तामाङ समुदाय बस्न थालेपछि पछिल्लो समय मधेशी समुदायले पनि वन अतिक्रमण गरेर बसोवास गर्न थालेका छन्। वन अतिक्रमण गरेर बस्नेले काठ तस्करी समेत गर्ने गरेको बलेरीका स्थानीयले बताएका छन्।

रौतहटको चुरे क्षेत्र समेत अतिक्रमणको चपेटामा पर्दै जान थालेको छ। रौतहटको चुरे क्षेत्रमा रहेको बस्तीलाई मद्देनजर गर्दै धमाधम पक्की संरचना बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहट मौन छ।

चुरेको पानीढलोभन्दा तल्लो भाग रौतहट जिल्लामा पर्ने भन्दै सरकारले चुरे संरक्षणका लागि करोडौँ खर्चिए पनि सुकुमवासीको नाममा चुरे अतिक्रमण गरेर बसेकाहरूको सहजताका लागि मकवानपुरको बकैया गापा र रौतहटको चन्द्रपुर नपाले चुरेमै पक्की बाटो बनाएका छन्।

चुरे अतिक्रमण गरेर बसेको बस्तीका बासिन्दाका लागि बकैया गापा–१ ले ढलान बाटो बनाए पनि त्यसतर्फ डिभिजन वन कार्यालयको ध्यान जान सकेको छैन।

एकातिर राज्यले चुरे संरक्षणका लागि करोडौँ खर्च गर्ने र रौतहटको चन्द्रपुर नगरपालिका र मकवानपुरको बकैया गापाले सोही क्षेत्रमा पक्की सडक लगायतका संरचना बनाउँदा चुरे विनाश अझै बढ्दै जाने जानकारको भनाइ छ।

चन्द्रपुर नपा–३ ले चुरे क्षेत्रका बासिन्दाको सहजताका लागि भन्दै चुरेमा डोजर चलाएर ग्राभेल बाटो बनाइदिएको छ। अर्कोतिर बकैया गापाले रौतहटको पानीढलोभन्दा तलको बस्तीलाई मद्देनजर गरेर पक्की सडक बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.