|

पर्वत : तनहुँको आबुखैरेनी गाउँपालिकाले सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने योजना ल्याउने तयारी गरेको छ।

गाउँपालिकाले वडा नं. ४, ५ र ६ का बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गराएमा प्रतिपरिवार ३५ सय रुपैयाँ गाउँपालिकाले नै तिरेर स्वास्थ्य बिमाको गर्ने भएको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमान क्षेत्रीले यो योजनाले निजी गुणस्तरीय शिक्षाको खोजीमा निजी विद्यालयमा गइरहेका बालबालिकालाई सामुदायिक विद्यालयमा फिर्ता गर्ने र सामुदायिक विद्यालयमा पनि गुणस्तर कायम गर्न सहज हुने बताए। 

क्षेत्रीका अनुसार रूप पक्ष फेर्ने, सिकाई र गुणस्तर तथा प्रोत्साहन कार्यक्रम गरी तीन वटा क्षेत्रमा विभाजन गरेर शैक्षिक क्षेत्रमा सुधारको प्रयास थालिएको हो।प्रोत्साहन कार्यक्रम अन्तर्गत नै गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने, सन्तानलाई सामुदायिक विद्यालयमा पठाएका परिवारलाई कर छुट दिने तयारी पनि गाउँपालिकाले गरिरहेको छ। 

‘हामीले स्वास्थ्य बिमा गरिदिने बाहेक अन्य सुविधाहरू दिने गरी तयारी गरिरहेका छौँ। करमा दिने छुटसहित बालबालिका लागि विभिन्न सामग्री पनि उपलब्ध गराउँदै आइरहेका छौँ’, अध्यक्ष क्षेत्री भन्छन्, ‘शैक्षिक सुधार र गुणस्तरका लागि तीन वटा पक्ष निर्धारण गरेर ती फरक फरक पक्षमा फरक फरक काम तथा क्रियाकलाप निर्धारण गरेका छौँ। विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरेपछि यसलाई अझै प्रभावकारी बनाएर कार्यान्वयन गर्ने तयारी छ।’ 

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा पाँचसम्मका सबै १२ सय ‍विद्यार्थीलाई निःशुल्क ट्र्याक सुट, झोला, जुत्ता, मोजा तथा टी–सर्ट वितरण गरिसकिएको छ। भवनतर्फ  गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने लगायतका कामहरू चैत मसान्तसम्म पूरा गरिसक्ने, नर्सरी देखि कक्षा दुई स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिमा जोड्ने विद्यालयले बताएको छ। केही ठाउँमा रहेका विद्यालयमा पुग्नको लागि विद्यार्थीहरूले घण्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले यस्तो समस्या रहेका ठाउँमा ‘विद्यालय बस’ सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।

सिकाइ गुणस्तरतर्फको पक्षमा एक कक्षादेखि आठ कक्षासम्मका विद्यार्थीका लागि ‘एनुअल स्ट्याटस’ वा ‘एजुकेसन रिपोर्ट’ तयार पार्ने तथा विद्यार्थी, शिक्षक, समुदाय लगायतमा रहेका समस्याको पहिचान गरी समाधान गर्ने, विषयगत रूपमा आवश्यक दरबन्दी विद्यालयमा पूरा गर्न गाउँपालिले आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने, आबुखैरेनी क्याम्पसमा युवा परिचालन गर्ने तथा ‘सी.एस.एन’ र ‘साथी शिक्षक’ संस्थासँग सहकार्य गरेर गाउँपालिकाका सात वटा विद्यालयमा सहकार्य सम्झौता गर्ने तथा निरन्तर अनुगमन गर्ने भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.