|

बागलुङ : चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्द्रप्रसाद सुवेदीले बागलुङ नगरपालिका–४ मा व्‍यावसायिक तरकारी खेती सुरु गरे।

कुँडुलेका अधिकांश युवा शक्ति विदेशमा छन्। यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिक रूपमा प्रयोग गरेका छन्।

युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन्। पौडेल र सुवेदी ज्वाइँ जेठान हुन्।

पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो। ३३ वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ। गोविन्द भने अहिलेसम्म विदेश गएका छैनन्।

पौडेलसँग विदेशमा भोगेका भोगाइको फेहरिस्त छ। विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ। चार वर्ष अगाडि ज्वाइँ जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ। पाँच लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा हालसम्म ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ।

कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुवाती चरणबाटै सफलता हात पर्न थालेको छ। परिवारसँगै काम गर्ने पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन्।

तरकारीका बीचबीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरुको दैनिकी हो। घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडा मात्रै वार्षिक करिब एक लाख तिर्ने बताउँछन्।

ज्वाइँ जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फर्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन्। व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन्।

पौडेल भन्छन्, ‘सुरुमा ठूलो पैसा कमाउने आशाले विदेश गइयो, तर विदेशमा जति दुःख संघर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाई गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ।’

पौडेललाई विदेशमा ६ वर्ष बिताएकोमा अहिले पश्चाताप लाग्छ। उनले स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन्।

विदेशमा बेच्ने श्रम आफ्नो गाउँ ठाउँमै गर्न सके समाज परिवर्तनसँग आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ। व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाई राखेको उनी बताउँछन्।

कृषकका लागि धेरै अनुदान तथा कार्यक्रमहरु आए पनि वास्तविक कृषकहरुले नपाएको गोविन्द्रप्रसाद बताउँछन्। अहिलेसम्म कृषि ज्ञान केन्द्रले डेढ लाखको टेनलबाहेक सहयोग भएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गरे। कृषकहरूलाई प्राविधिक, समय–समयमा तालिम, मल, उन्नत जातका बिउभिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने ३५ वर्षीय सुवेदीको भनाइ छ।

‘यहाँ कृषिमा ठूलो सम्भावना छ, अहिले हामीहरुले साना–सानो फर्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, गाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ,’ उनले भने– ‘तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यवसायिक कृषिक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनु पर्छ, अहिले अनुदान पाउनेमा व्यवसायिक कृषकभन्दा बढी निर्वाहमुखी कषक छन्।’

सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरुले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए। बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उहाँले सुनाए। उनहरुले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रबिधिबाट सिँचाई र तरकारी खेतीको सुरुवात गरेका छन्। बारीमा आधुनिक प्रबिधिको थोपा सिँचाई मार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आउनु भएको छ। उनीहरुले मल, बिउ लगायतका आवश्यक सामग्री बाहिरबाट लिए तरकारीका बिरुवा आफै उत्पादन गर्ने गरेका छन्।

पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएको बताउँछन्। लागानी गरेर पनि वार्षिक तीन लाखभन्दा बढी नाफा कमाउँदै आएको उनीहरुको भनाइ छ। व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेका उनीहरुले आगमी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएका छन्।

विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसायक कमैले मात्रै गरेका छन्। कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौँका बजेट आउने गरेका छन्। त्यो बजेटलाई कृषकसम्म सहज रुपमा पुर्‍याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। जिल्लामा पछिल्लो समय व्यवसायिक कृषिमा लाग्ने युवाहरु बढेको भन्दै उनीहरुलाई आधुनिकतासँग जोड्न थालेको उनी बताउँछन्।

‘कृषकका हरके समस्यालाई समाधान गर्दै जाने चरणमा छौँ, सबैका समस्या एकै पटक समाधान हुन सकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरुले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो,’ प्रमुख भट्टराईले भन– ‘जिल्लामा खपत भइरहेको छ, टाढा–टाढा पु¥याउनु परेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठूलो राहत मिल्छ।’

बागलुङ बजार नजिकै रहेको कृषि फर्ममा ग्राहक बारीमै पुगेर पनि तरकारी किनेर ल्याउँछन्। म्याग्दीको बेनी र बागलुङ बजार नजिकै भएको हुँदा उनीहरुलाई बजारको समस्या छैन। उनीहरुको मुख्य समस्या आयातित तरकारीले गर्दा उचित मूल्य नपाउनु हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.