विद्यार्थीलाई हतोत्साहित गराउनु नहुने केन्द्रको भनाइ

|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका लागि यतिखेर विद्यालयहरूमा विद्यार्थीको विदाइ कार्यक्रम चलिरहेको छ। चैत १७ गतेदेखि एसइई परीक्षा सञ्चालन हुँदै छ। कार्यक्रममा विद्यार्थीहरू साथीसँग छुटिने बेला कोही सर्टमा लेखेर त कोही गीत गाएर विदाइ कार्यक्रम गरिरहेका छन्।

यस्ता विदाइ कार्यक्रममा सम्झना अनि भविष्यको शुभकामना दिनुपर्ने हो तर हिजोआज विद्यार्थीको सर्टमा लेखिएको ‘खाडीमा भेटौंला’ तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा औधी चर्चा भइरहेको छ। 

भक्तपुरको बागेश्वरी माविबाट विदाइ हुँदै गरेका कक्षा १२ मा अध्ययनरत सिन्धुपाल्चोकका निराज तामाङ, काभ्रेका निराजन मैनाली, रामेछापका राजन मानन्धर र ललितपुर गोदावरीका विशन नगरकोटीले यसरी ‘खाडीमा भेटौंला’ लेखेको सर्ट लगाएका हुन्। 

उनीहरूकाे विद्यालय पाेशाकमा वैदेशिक यात्रा सफल रहोस्, कोरियाको यात्रा सफल रहोस्, जापानको यात्रा सफल रहोस् भन्ने शब्द पनि लेखिएका थिए।

यस्तै, अर्को एक भिडियो सार्वजनिक भएको छ। दुई जना फूलमाला लगाएर बनाएको भिडियोमा भनिएको छ, ‘हेर केटा आज सरहरूले हामीलाई फूलमाला लगाएर स्कुलबाट विदाइ गर्नु भयो नि, हो त्यसैगरि नै भोलि पर्सि हामीलाई हाम्रा बुबाआमाहरूले फूलमाला लगाएर नेपालबाट विदाइ गर्ने छन् क्या!’

‘राज्यविरूद्ध सांकेतिक विरोध गरेका हौँ’

निराजन मैनाली टि-सर्टमा खाडीमा भेटौंला भनी लेखेर राज्यविरूद्ध सांकेतिक विरोध गरेको बताउँछन्।

उनले भने, ‘देशको स्थिति त्यस्तै छ। राजनीतिक परिवर्तन, भ्रष्टाचार, एसइई दिएपछि पार्टटाइम जब छैन, रोजगार छैन। साथीहरूले विदेश जाने योजना बनाइसके, त्यसैले हामीले सल्लाहमै त्यस्तो लेखेका हौँ।’

अध्ययनसँगै नेपालमै रोजगारीको अवसर मिलाउन राज्यलाई दबाब परोस् भनेर पनि यस्तो लेखेको उनको भनाइ छ। ‘यो राज्यविरूद्ध सांकेतिक विरोध गरेका हौँ, रोजगारीको अवसर प्रदान गर्नुपर्छ। यो लेख्दा राज्यलाई दबाब परोस् भनेर पनि लेखेका हौँ,’ उनले भने। याे विषय संसदमा समेत प्रवेश गरेको छ। 

यस्ता भिडियो, टि-सर्टमा लेखिएका सन्देशले अहिलेको यहाँको राजनीतिक, शैक्षिक अवस्था, रोजगारीको अवस्थालाई तीतो सत्य जस्ताको तस्तै चित्रण गरिदिएको छ। वर्षेनि हजारौँ विद्यार्थीहरूले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिइरहेका छन्। 

तर यसले अर्कातर्फ अध्ययन गरिरहेका बालबालिका र अन्य विद्यार्थीहरूमा भने नकारात्मक सन्देशसमेत गएको छ। मनोविश्लेषकहरूले पनि यसप्रति चिन्ता व्यक्त गरेका छन्। 

मनोविश्लेषक एवं योग प्रशिक्षक अनन्त केसी भन्छन्, ‘हामीले हेर्ने कुनै पनि श्रव्य दृश्यभन्दा बढी दिमागमा यस्तो दृश्यको छाप पर्छ, त्यसैले भिडियो बढी चल्नुको कारण यही हो। समाजलाई भड्काउ गर्ने किसिमका गलत सन्देश फैलाउने, भेषभूषा हामीले देख्यौँ भने दिमागमा बसिहाल्छ, त्यसले असर त परिहाल्छ।’ 

उनका अनुसार टि-सर्टमा लेखिएको ‘खाडीमा भेटौँला’ बाट खासै सन्देश दिँदैन। ‘भिडियोले भने गलत सन्देश जान्छ, बालबालिकाहरूले मोबाइल चलाउँछन् उनीहरूले देखेमा असर पुग्छ, सानाभन्दा बढी टिनएजर्सलाई आखिर खाडी नै जानुपर्ने रहेछ, किन पढ्ने? पढाइका लागि दुःख किन गर्ने? भन्ने छाप बस्छ,’ उनले भने। 

तर पनि उनी यी भिडियो बनाउनु तथा टि-सर्टमा लेखिनुले वास्तविक तथ्य चित्रण गरिएको पनि बताउँछन्। ‘यो नकारात्मक कुरा पनि हो अनि रियालिटी पनि हो,’ उनले भने, ‘म बढी रियालिटीमा विश्वास गर्छु, यस्ता भिडियो, टि-सर्टमा लेख्नु तीतो सत्य पनि हो।’

देशको अभिभावक सरकार हो। स्वयम् सरकार समाजप्रति कति जिम्मेवार छ भन्ने यो भिडियोले देखाउन खोजेको उनले बताए। उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालका कारण विद्यार्थीहरूको पढाइमै प्रभाव परेको छ।

‘प्रविधिको प्रयोग हुनुपर्छ तर कसरी प्रयोग गर्ने भन्नेमा भर पर्छ, टिकटकले पढाइमै समस्या पनि पार्दै छ, टिकटकमा ५ मिनेटसम्मको भिडियो हेर्ने बानीले विद्यालयमा एक पिरियडमा विषय शिक्षकहरूको कुरा सुन्न गाह्रो भएको छ,’ उनले भने।

उनले नकारात्मक कुराहरूलाई समाज वा मान्छेले चाँडो स्वीकार्ने बताए। ‘चेतन, अवचेतन र अचेतन मन हुन्छ। अचेतन मनमा एककोशीय जीव हुँदाको मेमरी ​रहन्छ, नराम्रा तथा मनपर्ने र याद रहन्छ,’ उनले भने।

‘शिक्षाको महत्व खत्तम पार्ने काम भयो, विदाइ कार्यक्रम राख्नै होइन’

शिक्षाविद्हरूले पनि यस्ता क्रियाकलाप गर्नु राम्रो मान्दैनन्। शिक्षाविद् प्राडा विनयकुमार कुसियत शिक्षा प्रणालीको महत्व खत्तम पार्ने काम भइरहेको बताउँछन्।

‘एजुकेशनको जुन भ्यालु सिस्टम छ त्यो सिष्टमलाई खत्तम पार्ने काम हो, यो यथार्थ होला तर उनीहरूले शिक्षा भनेको कमाउन खाने भाँडो बनाएझैं बुझे, खाडी जाने, त्यहाँ भेटौला भन्ने कुरा राम्रो होइन,’ उनले भने।

बजारमा रोजगारीका लागि प्रतिस्पर्धा गर्न पहिला आफूमा त्यो प्रतिस्पर्धाको भावना हुनुपर्ने उनी बताउँछन्। ‘पहिला विद्यार्थीहरू आफू सक्षम हुने हो अनि मार्केटमा जाने हो,’ उनले भने, ‘तर त्यस्तो भावना देखिएन।’

उनका अनुसार यहाँ कोही पनि उच्च शिक्षा हासिल गरेर पनि कुनै रोजगारी नपाएको अवस्था भने छैन तर पनि राम्रो रोजगारको अवसर राज्यले प्रदान गर्न नसकेको उनको भनाइ छ।

उनले विदाइ कार्यक्रम राख्नु राम्रो नभएको बताए। ‘विदाइ कार्यक्रम गर्ने नै होइन, यसको अर्थ नै छैन। स्कुलहरूले पनि बुझेको छैनन्, म त यसको विरोध गर्छु किनकि स्कुलको अन्तिम त कक्षा ११ १२ हो, एसइई अन्तिम होइन तर यसैलाई ठूलो उपलब्धि ठानियो, यस्ता सोचमा परिवर्तन हुनैपर्छ,’ उनले भने। 

केन्द्र भन्छ :विद्यार्थीलाई हतोत्साहित गर्नु हुँदैन 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले विद्यार्थीहरूलाई हतोत्साहित गर्ने यस्ता विभिन्न क्रियाकलाप गर्न नहुने बताए। 

‘यस्ता विद्यार्थीहरूलाई हतोत्साहित गर्ने विभिन्न क्रियाकलाप पहिलादेखि नै नगर्नू भनेकै हो, यसमा नजिककाे स्थानीय तहले हेर्नुपर्छ,’ उनले भने।

उनले सकारात्मक कुरालाई प्रोत्साहन दिनुपर्ने बताए। ‘राम्रो कुरा पो लेख्नुपर्छ, सकारात्मक कुरा दिनुपर्छ, राम्रो कुरालाई प्रोत्साहन गर्नै हो। यहाँ केही अवसर नमिलेको भन्ने छैन नि, कमी कमजाेरी भए सुधार गर्दै जानुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.