ताइपेई : थाइवान (ताइवान) का पूर्वराष्ट्रपति मा यिङ-चउ पहिलोपटक चीन पुगेका छन्। यसै क्रममा उनले थाइवान जलडमरुको दुबै छेउमा बसोवास गर्ने मानिसहरू चिनियाँ मूलका र एउटै पुर्खाका सन्तान भएको बताए।
उनको भनाइको ताइवानको सत्तारुढ दलले आलोचना गरेको छ। मा यिन-चउ सन् २००८ देखि २०१६ सम्म थाइवानका राष्ट्रपति हुन्। उनी चीन भ्रमण गर्ने पहिलो ताइवानी राष्ट्रपति पनि हुन्।
ताइवानका वर्तमान राष्ट्रपतिले अहिलेसम्म चीन भ्रमण गरेका छैनन्। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग भन्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र भएको दाबी गर्दै आएको छ।
ताइवान र चीनबीच तनाव बढेका वेला मा पेकिङ पुगेका हुन्। चीनले विगत केही महिनादेखि ताइवानविरुद्ध आक्रामक व्यवहार देखाउँदै आएको छ।
गत वर्ष अमेरिकी सिनेटकी तत्कालीन अध्यक्ष न्यान्सी पेलोसी ताइवान पुग्दा चीनले आफ्नो सेना तैनाथ गरेको थियो। चीनले ताइवानमाथि क्षेप्यास्त्र प्रहार गरेर आफ्नो शक्ति देखाउन खोजेको थियो। धेरै चिनियाँ युद्धपोतहरू ताइवानको समुद्री क्षेत्रभित्र प्रवेश गरेका थिए।
यति ठूलो संख्यामा चिनियाँ सेना तैनाथ देखेर अमेरिका र जापानले पनि आफ्ना युद्धपोत ताइवानको नजिक पठाएका थिए।
ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले चीनले हालै ताइवानको मित्र होण्डुरसमाथि दबाब बढाएर सम्बन्ध तोडेको हो कि भनेर प्रश्न गरेको छ। यस्तो अवस्थामा मा किन चीन गए भनेर प्रश्न गरिएको छ। हाल ताइवानको १३ देशसँग मात्रै कूटनीतिक सम्बन्ध छ।
उनी नानचिङस्थित सन यात सेनको समाधिस्थल पुगेका छन्। सन् १९११ मा चिनियाँ सम्राटलाई हटाई सन यात सेन राष्ट्रप्रमुख बनेका थिए।
नानचिङ भ्रमणका क्रममा माको कार्यालयले ताइवान जलडमरूका दुवै छेउका जनता चिनियाँ भएको बताएको जानकारी दिएको छ। माले आफ्नो राष्ट्रियता भन्नुको साटो चिनियाँ मूलका भनेर उल्लेख गरे। यसरी साझा पुर्खाको बारेमा कुरा गर्नु चीनको समर्थन हो भन्ने विश्वास गरिन्छ।
अधिकांश ताइवानी अब आफूलाई चिनियाँ भन्ने मान्दैनन्। सन यात सेनलाई चीन र ताइवान दुवै देशमा सम्मान गरिन्छ। जनवादी गणतन्त्र चीन र गणतन्त्र चीन (थाइवान)ले एकअर्का देशलाई चिन्दैनन्।
आजभन्दा आठ वर्षअघि सन् २०१५ को नोभेम्बर ७ तारिखमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र थाइवानका तत्कालीन राष्ट्रपति मा यिङ-चउबीच सिंगापुरको सांग्रिला होटेलमा भेटवार्ता भएको थियो। त्यतिखेर पनि थाइवान र चीन दुवै देशले आफ्ना देशका झण्डा प्रयोग गरेका थिएनन्।
उनीहरू दुवैले आफूहरूको एकै परिवारको व्यक्ति भएको बताएका थिए। चीन पनि थाइवानलाई कम्यूनिष्ट पार्टीको आदर्श भएको आफ्नो झण्डा देखाएर उत्तेजित गराउन चाहँदैन। त्यसैले उनीहरू दुवै चिनियाँ सभ्यता र साझा पुर्खा भन्ने शब्द प्रयोग गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।