बैतडी : जिल्लाका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखा परेको छ। शुरुमा फाट्टफुट्ट देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए।
पाटनका किसानले पालेका पशुचौपायामा यो रोगका लक्षण देखा परेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तले बताए। गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसको लक्षण देखा परेको हो। परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो’, उनले भने।
शुरुमा पाटनमा मात्रै देखा परेको यो रोग हाल जिल्लाको शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा यो प्रकोप देखिएको छ।
जिल्लाका सबै स्थानीय तहका यो रोगको संक्रमण देखा परेको भएपनि पाटन,मेलौली,शिवनाथ सुर्नयामा प्रकोपकै रुपमा देखा परेको प्रमुख पन्तले बताए। ‘यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखा परेको छ। दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ’, उनले भने।
गाई र गोरुमा बढी संक्रमण देखा परेको बताइएको छ। संक्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेको तथ्यांक नआएको केन्द्रले जनाएको छ।
शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउदले बताए। यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन छैन। ‘उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिन सुरु गरेका छौँ, बेटाटिन तथा ड्रेसिंग पनि गर्ने गरेका छौँ’, उनले भने।
पशुचौपायामा लम्पी स्किन रोग देखा परेपछि किसान चिन्तित भएका छन्। यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ।
यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिंगान काँड्ने, गर्भिर्णी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्छ।
यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ। पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ।
लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको हो। त्यसपछि चितवनमा देखा परेको लुम्पी रोग बैतडीमा पनि देखा परेको जनाइएको छ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने विज्ञ बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।