|

काठमाडौं : राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

उनले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरे। उनले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गरे।

उनले भने, ‘यसलाई कानुन बनाएर कानुनसम्मत् ढंगले त्यसलाई नियन्त्रण गर्नुपर्ने र यो प्रणाली यो प्रक्रियालाई अगाडी बढ्न नदिन, यसलाई प्रोत्साहित नगर्नका निमित्त नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। नेपाल राष्ट्रिय पुस्तकालयको हेरबिचार गर्नुपर्ने देखिन्छ।'

त्यस्तै, उनले द्वन्द्वकालीन घटनाहरुको सम्बन्धमा संक्रमणकालीन न्यायको विधिबाट कानुन बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताए।

उनले भने, ‘सात राजनीतिक दल र विपक्षी विद्रोही माओवादीका बीचमा सहमति भयो। र सम्झौता कार्यान्वयन गर्ने कुरामा केही विवादहरु अहिले आएका छन्। सरकारमा जाने बेला त्यसलाई क्रान्तिकारी देख्ने, परिवर्तनकारी देख्ने, सरकारबाट बाहिर रहँदा आतंककारी देख्ने प्रवृत्तिका कारणले समस्या बल्झिराखेको छ। यसको हल गर्नुपर्छ। यसलाई संक्रमणकालिन न्यायको विधिबाट कानून निर्माण गरेर यो विधिबाट हल गरेर मात्रै देशलाई उँभो लाउन सक्छौँ।’

उनले राजनीतिक दलहरु सरकारमा जाँदा तत्कालीन माओवादीले गरेको आन्दोलनलाई क्रान्तिकारी देख्ने र सरकारमा नहुँदा आतंककारी देख्ने प्रवृत्तिका कारण संक्रमणकालीन न्यायको विषय बल्झिराखेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.