|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीको वडा कार्यालयमा बुधवार सामुदायिक विद्यालयका सरोकारवाला सहभागी थिए। ‘सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरसंवादको उद्घाटनको शैली भने चलनचल्तीको भन्दा फरक थियो।

कार्यक्रम उद्घाटन हुनुपूर्व सहभागीलाई ‘मेटा कार्ड’ वितरण गरेर सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न नसक्नुको कुनै एक कारण लेख्न भनियो। सहभागीले ‘मेटा कार्ड’ मा सामुदायिक विद्यालयमा आफूले देखेका समस्या लेखेर ‘समस्याको पोको’ लेखिएको झोलामा खसाले। ‘समस्याको पोको’मा जम्मा भएका समस्याको समाधान खोजेर सामुदायिक वडा नं. १० मा रहेका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८० मा नयाँ जोसका साथ गुणस्तरीय शिक्षा प्रदान गर्न उत्साह दिन कार्यक्रम आयोजना गरिएको थियो।

‘समस्याको पोको’ मा पारिएको गाँठो ‘समाधान’ लेखिएको कैँची काटियो अनि सरोकारवालाबाट प्राप्त शैक्षिक सवालबारे छलफल भयो। झन्डै ४० भन्दा बढी समस्या अन्तर्गत विद्यालयमा प्रधानाध्यापक गर्ने प्रशासन कमजोर हुनु, शिक्षक तथा कर्मचारीहरूले प्र.अ.को आदेश नमान्नु, नयाँ प्रविधिको प्रयोग नगरिनु, विद्यार्थीको क्षमता र रुचिअनुसारको शिक्षण नहुनु, अङ्ग्रेजी माध्यमलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरिनु, विद्यालयमा रहेका भौतिक समस्या, कम सन्तान जन्माउने क्रमले विद्यालयमा विद्यार्थी कम हुँदै जानु, मासिक रूपमा शुल्क बुझाउँदा मात्रै अभिभावकले सन्तानको पढाइमा ध्यान दिनु, लगायतका समस्या भेटिएका छन्।

सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न पीपलटारीमा रहेका पूर्णेश्वर माध्यमिक विद्यालय, थुममा रहेको जनक माविको भूतपूर्व विद्यार्थी समाज, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एन.सी.ई) पर्वतको संयुक्त आयोजनामा भएको कार्यक्रममा वडा कार्यालयले साथ दिएको थियो।

विगतदेखि नै शैक्षिक रूपमा अब्बल मान्ने गरिएको पीपलटारीका विद्यालय छोडेर अभिभावकहरूले निजी विद्यालय रोज्नु, शैक्षिक गुणस्तर नभएका कारण स्थानीय विद्यालयमा बालबालिका लैजान नसकेको भनी अभिभावकबाट कुरा आउनु तथा विद्यालयले विभिन्न समस्या बताएका कारण सरोकारवालाको सर्वपक्षीय भेला गरेर अन्तरसंवाद गरिएको पूर्णेश्वर मा.वि.को भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलले बताए।

कार्यक्रममा संकलित समस्याको उपयुक्त समाधान निकालेर आउँदो शैक्षिक सत्रबाट वडा कार्यालय, अभिभावक र विद्यालयले कार्यान्वयन गर्ने गरी समिति निर्माण गर्ने वडा कार्यालयको योजना छ। एक दिनभित्रै समिति बनाएर सङ्कलित समस्या बुझाएपछि समितिले तयार पार्ने खाकामा छलफल गरेर सामुदायिक विद्यालयको शिक्षणमा गुणस्तर कायम गर्न आफूहरू लाग्ने वडाध्यक्ष रामचन्द्र सुवेदीले बताए।

‘स्रोत साधन नभएका कुरा आए। यी सबै कुरा पूरा गर्न विद्यालयका कार्यरत जनशक्तिको दृढ इच्छाशक्ति चाहिन्छ। विद्यालयमा रहेका कम्प्युटर प्रयोगमा आएका छैनन् भन्ने अवस्था पनि स्वमूल्याङ्कन गर्नुपर्छ’, उनले भने, ‘विद्यालय, अभिभावक र विद्यार्थीबाट आएका योजनाका लागि वडा कार्यालय सकारात्मक छ। गुणस्तरका लागि विद्यालय तयार हुनुहोस् वडाका तर्फबाट गर्न सकिने कुनै काम बाँकी रहनेछैन।’

सर्वोच्च अदालतका उपसचिव उदवीर नेपालीले शैक्षिक क्षेत्रमा रहेको प्रशासनिक, नैतिक र भौतिक लगानीका कारण समस्या आएको हुन सक्ने आफूले देखेको बताए। राज्यबाट आफूले सुविधा लिए बराबरको श्रम सबैले इमानदारीपूर्वक गरिदिए धेरै समस्याको समाधान हुने उनको भनाइ थियो।

राज्यको ध्यान भौतिक विकासमा मात्रै केन्द्रित हुँदा दीर्घकालीन रूपमा नतिजा दिने शिक्षा क्षेत्रमा असर परेको नेपालीले बताए। आफ्ना सन्तानले अध्ययन गर्ने विद्यालयको गुणस्तरमा ध्यान नदिएर कालोपत्रे सडक मात्रै खोजेर बस्नु अभिभावको दोष भएको उनको ठहर छ।

अन्तरसंवादमा ‘मर्ज’ हुने तयारीमा रहेको अवस्थाबाट माथि उठेर जिल्लाकै उदाहरणीय विद्यालय बनेको फलेवास नगरपालिकाका गहते अम्बोट आधारभूत विद्यालयले पाएको सफलताका कारणबारे विद्यालय प्रधानाध्यापक ओमकार पौडेल र शिक्षक अभिभावक सङ्घका अध्यक्ष बाबुराम पौडेलले जानकारी गराएका थिए।

खातामा चार हजार र २४ जना विद्यार्थी मात्रै भएको विद्यालयले समुदायसँगको सहकार्यमा अहिले करिब डेढ सय विद्यार्थी र खातामा २० लाख बनाउन सक्नुले समुदाय विद्यालयको सम्बन्धले मात्रै शिक्षामा गुणस्तर आउने उनीहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.